Sajhamanch Archive

बिर्तामोडको परिचय विस्तारमा महोत्सव महत्वपूर्ण हुने विश्वास

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । माघ ११ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको लागि २१० वटा स्टलहरु निर्माण गर्नेसहितका ९५ प्रतिशत तयारी पूरा भएको जनाइएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो १२ बजे महोत्सवको समुद्घाटन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन् । बुधबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी गराइएको हो । हेलिकप्टरमार्फत पुष्पवृष्टि गराउँदै महोत्सवको समुद्घाटन गर्ने आयोजक समितिको तयारी छ ।

महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले मेलाको तयारीबारे पत्रकार सम्मेलनमा लिखित विवरणहरु वाचन गरेका थिए । महोत्सवमा दुई लाखभन्दा बढी मानिसहरु सहभागी भई मेला अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिवाकोटीले बताए ।

बिर्तामोडको व्यापारलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न महोत्सव कोशेढुंगा सावित हुने आयोजक समितिको विश्वास छ । ‘महोत्सव उद्योगी व्यवसायीको मात्र नभएर समग्र झापाली नागरिकको गौरव बन्ने हामीले विश्वास लिएका छाँ’ संयोजक शिवाकोटीको भनाई छ ।

महोत्सवका लागि तयारी गरिएको ९५ प्रतिशत स्टल बुकिङ भएको जनाइएको छ । महोत्सवका दिन स्थानीय संघ–संस्थाको व्यानरसहित प्रभातफेरी गर्ने तयारी गरिएको छ ।

महोत्सवमा विभिन्न संघ–संस्थाको सहयोगमा आँखा शिविर, दन्त शिविर, छाला रोग सम्बन्धी शिविर, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तदान कार्यक्रमलगायत स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु पनि आयोजना गर्न १५ वटा उपसमितिहरु गठन गरिएको छ ।

महोत्सव आयोजक समितिका अनुसार नेपाललगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहनेछ ।

मेलामा ख्यातिप्राप्त कलाकारले दिनहुँ आफ्नो प्रस्तुति देखाउनेछन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोडक्टसम्मका उत्पादन मेलामा पाइने छन् । प्रदर्शनी कक्षमा अलग–अलग परिसर बनाएर अटोमोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ता चप्पल प्रदर्शनमा रहनेछन् ।

महोत्सवको आकर्षणका रुपमा तीनवटा प्याकेजमा हेलिकप्टर सेवा सञ्चालन गरिने बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले वताए । हेलिकप्टर मार्फत् ५ मिनेटको प्याकेजमा बिर्तामोड अवलोकन गर्न सकिने छ ।

१० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइनेछ । बिर्तामोडदेखि ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको अर्को प्याकेज बनाएको छ । हेलिकप्टरमा एक पटकमा ६ जना चढ्न मिल्नेछ ।

बिर्तामोडमा पहिलो पटक यस प्रकृतिको व्यापार मेला गर्न लागिएकोले यहाँका बासिन्दाका लागि महोत्सव सफल बनाउनु दायित्व जत्तिकै भएको चर्चा गर्दै समाजसेवी जलकुमार गुरुङले आयोजकसँग समन्वय गरी सरसहयोग गर्न सबैलाई आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *