Sajhamanch Archive

राष्ट्रिय शहीद सप्ताह सुरु

Published: in राष्ट्रिय समाचार, समाज by .

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

सप्ताहको पहिलो दिन बिहीबार बिहान टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गर्ने कार्यक्रम छ । सालिक अनावरणसँगै पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसैगरी १३ गते आइतबार सिफलमा माथेमालाई मृत्युदण्ड दिइएको स्थलमा निर्माण भएको उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरिने छ । माघ १५ गते मङ्गलबार शहीद चन्द र श्रेष्ठलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी सम्मान गर्ने कार्यक्रम छ ।

माघ १६ गते बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको महानगरपालिकाका अधिकृत धनपति सापकोटाले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसैगरी दिउँसो लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको छ ।

विगतमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत बनिरहेको स्मारक राज्य पुनःसंरचनाका क्रममा मन्त्रालयको खारेजीसँगै शहरी विकास मन्त्रालयबाट निर्माण भइरहेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

स्मारक निर्माण सम्पन्न भएपछि शहीदगेटका चार शहीदको सालिक पनि गोकर्णमै स्थानान्तरणका लागि सरकारीस्तरबाट निर्णय भएको स्मारक निर्माण समितिका सिग्देलले बताए ।

गोकर्णको जगडोल ९यज्ञडोल० सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद सङ्ग्रहालय, शहीदसम्बन्धी अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

विसं २०७५ को वैशाखदेखि नै स्मारक सञ्चालनमा ल्याउने तयारी गरिएकामा भूकम्प, नाकाबन्दीको समस्या एवं निर्माण व्यवसायीले समयमा काम नगर्दा ढिलाइ भएको स्मारक निर्माण कार्यदल कार्य सम्पादन समितिले जनाएको छ ।

शहीदगेटमा सरकारले औपचारिक कार्यक्रम गर्न छोडे पनि विभिन्न सङ्घ संस्थाले पूर्वराजा त्रिभुवन र चार शहीदको सालिकमा माल्यार्पण गरी शहीद दिवस मनाउने कार्यक्रम रहेको जनाइएको छ ।

यसैगरी देशभर निर्माण भएका शहीद स्मारक, उद्यानलगायत स्थलमा विभिन्न कार्यक्रमको आयोजना गरी तीनै तहका सरकारले दिवस मनाउने कार्यक्रम रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *