Sajhamanch Archive

भेनेजुयलाका विपक्षी नेताले आफैंलाई गरे कार्यकारी राष्ट्रपति घोषणा, अमेरिकाको समर्थन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । भेनेजुयलाका विपक्षी नेतालाई अमेरिकाले समर्थन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

भेनेजुयलाका हजारौं नागरिक हालका राष्ट्रपति निकोलस माधुरोविरुद्ध सडकमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व विपक्षी नेता खुआन गोइदोले गरेका छन् । उनले बुधबार कराकासमा आफैंलाई ‘कार्यकारी राष्ट्रपति’ घोषणा गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘माधुरोको नाजायज सरकारको कारण भेनेजुयलाका नागरिकले लामो समयदेखि अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको छ । म आज आधिकारिक रुपमा नेशनल एसेम्बलीका अध्यक्ष खुआन गोइदोलाई देशको अन्तरिम राष्ट्रपति स्वीकार गर्दछु ।’

गोइदो भेनेजुयलाको राष्ट्रियसभा अध्यक्ष हुन् । उनले सरकारविरुद्ध अवज्ञा आन्दोलन सुरु गर्न आह्वान गरेका थिए । बुधबार राजधानी कराकासमा सरकारविरुद्ध उत्रिएका प्रदर्शनकारीको सुरक्षाकर्मीहरुसँग झडपसमेत भएको थियो ।

अधिकारकर्मीहरुका अनुसार प्रदर्शन सुरु भएपछि एकै रातमा कम्तिमा चार जनाको मृत्यु भएको थियो । हजारौं नागरिक सडकमा उत्रिएर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

जनवरी महिनाको शुरुवातमा निकोलस मधुरोले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको शपथ ग्रहण गरेका थिए । उनीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लाग्दै आएको छ ।

निकोलस मधुरोको नेतृत्वमा धेरै वर्ष भेनेजुयला आर्थिक संकटमा गुज्रिएको छ । चर्को मूल्यवृद्धि तथा खाद्यान्न र औषधि अभावका कारण लाखौं नागरिक पलायन पनि भएका छन् ।

अर्गनाइजेसन अफ अमेरिकन स्टेटले पनि गोइदोलाई भेनेजुयलाको नेताको रुपमा स्वीकार गरेको छ । अर्गनाइजेसनका महासचिव लिई आलमाग्रोले भनेका छन्, ‘भेनेजुयलाका कार्यकारी राष्ट्रपतिको रुपमा हामी खुआन गोइदोलाई मान्यता दिन्छौं । देशमा फेरि लोकतन्त्रको बहाली हुनुपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *