Sajhamanch Archive

चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने

Published: in राष्ट्रिय समाचार, समाज by .

विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी ९मगन्ते० रहित बनाउने अभियान शुरु भएको छ ।

गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाको सहकार्यमा राजधानीलाई मगन्तेरहित बनाउन लागिएको हो ।

पशुपति क्षेत्रबाट शुरु भएको कामलाई काठमाडौँ जिल्लाभर विस्तार गरी नमूनाका रुपमा देशका प्रमुख शहर हुँदै देशभर विस्तार गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

“माग्नुलाई पेशाका रुपमा स्थापित गर्नेहरुलाई निरुत्साहित गर्न कोही नभएका असहाय, जीवन जोखिममा रहेका वर्ग, घरबारविहीनको बाँच्ने अधिकार सुनिश्चित गर्न परोपकारी संस्थामा बस्ने व्यवस्था गरिन्छ, बाँकीलाई टेण्ट राखेर भए पनि सार्वजनिक स्थलमा माग्नबाट रोक्ने अभियान शुरु गर्न लागिएको हो”, उनले भने ।

अभियानलाई सहज बनाउन विभिन्न नगरपालिकामा खाली रहेका सामुदायिक भवनमा समेत सहयोगापेक्षी राखिने जनाइएको छ ।

कानूनी रुपमा सार्वजनिक स्थलमा बसेर माग्न नपाइने व्यवस्थालाई कार्यान्वयन गर्न महानगरपालिकाले मानव सेवा आश्रमलाई मासिक रु एक लाख ६७ हजार घर भाडा तिर्न सहयोग गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

महानगरपालिकासहित ११ नगरपालिकाका १३८ वडामा गठन भएका नागरिक प्रहरी साझेदारी समितिलाई समेत परिचालन गरी साँढे दुई महीना अभियान चलाएर विसं २०७६ वैशाखमा मगन्तेरहित जिल्ला घोषणा गर्न गृहकार्य शुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

मगन्तेरहित जिल्ला घोषणा गर्ने अभियानमा लागेका संस्थाले एक कार्यदल गठन गरी गृहकार्य गरिरहेका छन् । माघ १४ गते सोमबार अभियान शुरुको घोषणा गरिने मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *