Sajhamanch Archive

बिर्तामोड महोत्सवमा सहभागिता बढ्दै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आउने उपभोक्ताहरुको संख्या दिनहुँ बढिरहेको छ । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सवको आज तेस्रो दिन उल्लेखनीय कारोबार भएको जनाइएको छ ।

२१० वटा स्टल रहेको महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो रहेको अध्यक्ष कुमार भट्टराईले बताएका छन् । महोत्सवमा शनिबारदेखि टिकटको व्यवस्था गरिएको छ । हालसम्म १० हजारभन्दा बढीले टिकट काटेर महोत्सवको अवलोकन गरेको आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।

मेला अवलोकनमा आउनेहरुले आदिवासी जनजातिहरुको स्टललाई विशेष चासोका रुपमा हेरेको पाइएको छ । महोत्सवमा आदिवासी जनजातिहरुले आफ्ना मौलिक सामग्री चिनाउने उद्देश्यका साथ स्टलहरु राखेका छन् ।

महोत्सव स्थलमा किरात राई यायोख्खा, मेचे समाज शिवियारी आफात, किरात याक्थुम चुम्लुङ, थारु कल्याणकारिणाी सभा, सन्थाल, राजवंशी, गनगाईं, मगर, तामाङ घेदुङ लगायत आदिबासी जनजातीको स्टल राखिएको छ । स्टलहरुमा मौलिक पहिचान झल्किने भेषभुषा, दैनिक प्रयोजनका परम्परागत सामाग्री तथा कलाकृति राखिएको छ ।

मौलिक घरसहितको स्टल बनाएर आफूहरुले राखेको किरात राई यायोख्खाका चित्रप्रकाश राईले बताए । ‘ओख्ली, जाँतो, डालो, डोको, चिण्डो, मकैको झुत्ता, फर्सी जस्ता सामग्री पनि राखिएको छ’ उनले भने, ‘महोत्सवमा मौलिक सामाग्री चिनाउने नै हाम्रो मुख्य उद्देश्य हो ।’

महोत्सवकै अवसरमा काठमाडौँबाट माउण्टेन एयरको हेलिकप्टर ल्याइएको छ । हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेको संख्या पनि बढेको वाणिज्य संघका सदस्य रोशन प्रसाईंले बताए । संघको आयोजनामा सञ्चालित महोत्सवमा तीनवटा प्याकेजमा हेलिकप्टर सञ्चालनमा ल्याइएको हो ।

महोत्सवस्थलमा स्वास्थ्य शिविरसमेत सञ्चालनमा ल्याइएको छ । सोमबार छाला रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुनेछ । महोत्सवमा आउनेमध्ये २५ जनाले रक्तदान तथा ४० जनाले दन्त परीक्षण गराएको लायन्स क्लब अफ बिर्तामोडले जनाएको छ ।

महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका सचिव सञ्जिव घिमिरेले बताए । मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति देखाइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *