Sajhamanch Archive

प्रदेश एक : ९ हजार ब्यक्तिलाई सीपमुलक तालिम दिइने

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

विराटनगर । दक्ष जनशक्ति उत्पादन गर्न उपलब्धिमुलक तालिम दिनुपर्ने विषयमा सरोकारवालाले जोड दिएका छन् ।

प्रदेश एक सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको सीपयुक्त जनशक्ति उत्पादनका लागि बजारको मागअनुरुप सीपको सम्भावना विषयक छलफलमा सहभागी सरोकारवालाले औपचारिकतामा सीमित हुने मात्र नभई उपलब्धिमुलक तालिम दिनुपर्ने विषयमा जोड दिएका थिए ।

फरक क्षमता भएकाहरुको क्षेत्रमा कामगर्ने संघसंस्था र अगुवा तथा उद्योगी ब्यवसायीलाई समेत सहभागी गराएर आयोजना गरिएको कार्यक्रममा बोल्दै अपांगता भएका ब्यक्तिहरुका लागि प्रादेशिक समिति तथा अपांगता कार्यक्रम ब्यवस्था र कार्यान्वयन सुझाव कार्यदल २०७५ का संयोजक रामकार्कीले फरक क्षमता भएका ब्यक्तिहरुले अन्य सरह रोजगारीको अवसर पाउन नसकेकाले उनीहरुको जीवनयापन कठिन रहेको बताए ।

उनले अपाङता भएकाहरुलाई उत्पादनसंग जोडेर आत्मसम्मानपुर्वक बाँच्न पाउने अवसर सृजना गर्नुपर्ने जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका राजेन्द्र राउत र विराट ब्यापार संघका शिव रिजालले बजारमा दक्ष जनशक्तिको अभाव रहेको बताउँदै समय सापेक्ष र बजारको मागअनुसार तालिमहरु संचालन गरिनुपर्ने बताए । उनीहरुले योग्य र दक्ष जनशक्तिको अभावकै कारण भारतबाट जनशक्ति ल्याउनुपरिरहेको बताए ।

प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्षमा प्रदेश एकमा ९ हजार ब्यक्तिलाई सीपमुलक तालिम दिइने बताए । उनले अब दिइने तालिम तालिमका लागि मात्र नभइ बजारको आवश्यकता र रोजगारीको सुनिश्तिता हुनेगरी तालिम प्रदान गरिने जानकारी दिए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेसहित सरोकारवाला विभिन्न निकायका पदाधिकारीको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *