Sajhamanch Archive

देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by .

आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाउने गरिन्छ ।

नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा वर्षेनी शहीद दिवस मनाउने गरिन्छ ।

अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानको सम्झनामा यो दिवस मनाइने गरिएको हो ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ गरिन्छ । १९९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *