Sajhamanch Archive

मनाङमा १० वर्षयताकै उच्च हिमपात

Published: in राष्ट्रिय समाचार by .

६ दिनदेखि लगातार परेको हिमपातले मनाङका सरकारी कार्यालय तथा स्थानीय तहको सेवा प्रभावित भएको छ ।

५ फिटसम्म जमेको हिउँले कार्यालयहरु खुलाउन नसकिएकाले सेवा नै प्रभावित भएको हो । कतिपय कार्यालयहरुका ढोकामै हिउँ जमेकाले समस्या भएको छ ।

हिउँ हटाएर कार्यालय खोल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

कार्यालय तथा सडकमा जमेको हिउँ पन्छाएर सेवा सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी र कर्मचारी परिचालन गरिएको छ ।

जिल्ला अस्पताल मनाङका प्रमुख डाक्टर योगेशराज पन्तले हिमपातले स्वास्थ्य सेवासमेत प्रभावित भएको बताए । मनाङमा यसवर्ष १० वर्ष यताकै भारी हिमपात भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मनाङको नार, फूलगायतका माथिल्ला भेगका गाउँ सम्पर्कविहीन छन् । चामेमा पनि छिनछिनमा फोन, इन्टरनेट, विद्युत् सेवा अबरुद्ध हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *