Sajhamanch Archive

‘भद्रपुर नगरको समृद्धिका लागि मेचीपूल’ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुर नगरका बासिन्दाको ६५ वर्ष लामो प्रतिक्षा आजबाट पूरा भएको घोषणा गरेका छन् । भद्रपुरस्थित मेची नदीमा निर्माण सम्पन्न भएको मेची पूलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नगरबासीको मेची पूल तर्ने सपना पूरा भएको बताएका हुन् ।

अब शिलान्यासमात्र होइन विकास निर्माणको महाअभियानमा सरकार लागेको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रा सरर चलेको सुनाए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भद्रपुर नगरको समृद्धिका लागि मेची पूल बनाइएको भन्दै चाँडै लिङ्करोड निर्माण हुने र सडक सञ्जाल जोडिने प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपालका कुनै पनि प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई समकक्षी मित्र भन्न नसके पनि आफूले सहजै भन्न सक्ने भएकोले भारततिरको सडक तुरुन्त निर्माणको वातावरण बनाउने प्रष्ट्याए । उनले १५० किलोमिटर भारतको गंगानदी छिचोल्दै नेपालको सप्तकोशीमा पानी जहाज सञ्चालन हुन लागेको सुनाए ।

प्रधानमन्त्रीले चीन—नेपाल—भारत चल्ने रेल जोडेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । वि सं. २०१९ साल चैतमा रेल हेर्न पहाडबाट भद्रपुरस्थित मेची नदीबाट हापपेन्ट लगाएर खालीखुट्टा गलगलिया पुगेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अब मेचीदेखि महाकाली जोड्ने रेल चल्ने दावी पनि गरे ।

प्रधानमन्त्री ओलीले नेपालसित भारत र बंगलादेशको व्यापारिक सम्बन्ध सरल बनाउन हुलाकी सडकको पहिलो पूलका रूपमा निर्माण सम्पन्न गरिएको मेची पूलको सञ्चालनका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै हुलाकी सडकका पूर्वी खण्डका सबै पूल यसैवर्ष बनिसक्ने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *