Sajhamanch Archive

शुक्रबारसम्म ५० हजारले हेरे बिर्तामोड महोत्सव

Published: in अर्थतन्त्र, टिप्स/जानकारी by .

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बाल उद्यान र खेल सामग्रीका लागि आउनेहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार बाल उद्यानमा स्कूलका विद्यार्थी र खेल सामग्रीमा बालबालिकादेखि युवासम्मको आकर्षण छ ।

महोत्सवमा भारतको दिल्लीस्थित सोनी एनिजमेन्टले बाल उद्यान तथा खेल सामग्री राखेको छ । रोटे पिङ, रसियन, मौतका कुवा, कोलम्बस, ड्रागन, ब्रेक डान्स, मिक्की माउस, हेलिकप्टर, स्करपियो, हात्ती, जम्पिङजस्ता खेल सामग्री राखिएको एनिजमेन्ट दिल्लीका मोहम्मद साजिदले जानकारी दिए ।

यस बाहेक नौला खेल सामग्रीमा चान तारा र टोरा टोरा राखिएका छन् । यी दुबै हाइड्रोलिक सिस्टम हुन् । महोत्सवमा सांगीतिक कार्यक्रममा झुम्न आउनेहरुको छुट्टै जमात छ । राष्ट्रिय तथा स्थानीय कलाकारले साँझमा प्रस्तति दिइरहेका छन् ।

हालसम्म सविन राई, राजन शिवाकोटी, प्रेम आङ्देम्बे र मेलिना राई, राजेश पायल राई, ताराप्रकाश लिम्बू, निलम ढुंगाना, प्रमोद खरेल, राज सिग्देल, हर्कुलस बस्नेत, अञ्जु गौतमलगायत कलाकारले स्टेज तताइसकेको महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए ।

शुक्रबार तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । परिषदको बिर्तामोड नगर परिषदले आयोजना गरेको कार्यक्रममा परिषदका केन्द्रीय सदस्य जलकुमार गुरुङ, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष गोपाल राई, महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटी लगायतले बोलेका थिए । जातीय भेषभुषामा सजिएका गुरुङहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

औद्योगिक व्यापार महोत्सवको आठौँ दिन आज शुक्रबारसम्ममा ५० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गरिसकेको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । उनका अनुसार महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रियसम्मका उत्पादन किन्न आउनेको भीड बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *