Sajhamanch Archive

‘जनप्रतिनिधिहरुले तलब लिनु अचम्म लाग्दो विषय’ : वेलायती काउन्सीलर गुरुङ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । पत्रकारद्वय तीर्थ सिग्देल र सन्तोष आचार्यले संकलन, लेखन तथा सम्पादन गरेको समृद्धि किताबको आज विमोचन गरिएको छ ।
आज अपरान्ह बिर्तामोडमा आयोजित ‘झापाको विकास बहस २०७५’ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुस्तकको विमोचन गरिदिएका हुन् ।

समृद्धि किताबमा झापाका केही स्थानीय तहले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ का लागि विनियोजन गरेका बजेट, नीति तथा कार्यक्रमहरु समेटिएका छन् । विमोचित पुस्तकमा संग्रहित विषयहरु बारे नेपालका पूर्व मुख्यसचिव तथा क्यानडाका लागि नेपालका पूर्व राजदूत डा. भोजराज घिमिरेले सटिक विश्लेषणसहितको समीक्षा गरेका थिए । उनले समृद्धि किताबमा आधारित रहेर भन्नुपर्दा झापाका कुनै पनि पालिकाले दुई आर्थिक वर्षमा दीर्घकालीन उद्देश्य राखेर बजेट विनियोजन भएको आफूले नपाएको बताए ।

स्थानीय तहले बनाएका बजेट, नीति तथा कार्यक्रमका रुपहरु हेर्दा साहित्यजस्तै लाग्ने गरेको प्रष्ट्याँदै पूर्व मुख्यसचिव डा. घिमिरेले अन्तरपालिका समन्वयका सम्बन्धमा कुनै कार्यक्रम समेटेको पाइएन भनी टिप्पणी गरे । उनले थपे, ‘कुनै स्थानीय तहले कर्मचारीका लागि सेवा सुविधा विस्तार गरेका छन् त कुनैले नारैनारा बनाएको पनि भेटियो । म प्रष्ट गर्न चाहान्छु, नाराले समृद्धि आउँदैन, बजेट र योजनालाई समुचित उपयोग गर्नुपर्छ ।’

झापाको मेचीनगरमा स्थायी घर भएका र हाल वेलायतका काउन्सीलर धनकिरण गुरुङले समृद्धि किताव एवम् वेलायतमा विकासको अवस्थाका बारेमा चर्चा गरे । जनप्रतिनिधिहरु स्वयम्सेवीभावले अग्रसर भएमा विकासले गति लिने अनुभव सुनाउँदै गुरुङले झापाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले तलब लिएको पाउँदा अचम्म लागेको बताए । तपाईंको पालिकाको आय स्रोत के हो भन्ने पहिचान गर्न सक्नुभयो भने पक्कै पनि संघीय सरकारले पठाउने बजेटको मुख ताक्नु नपर्ने सुझाउँदै वेलायतका काउन्सीलर गुरुङले भने रणनीतिक योजना बनाएर जनसेवा गर्ने हो भने समृद्धि छिट्टै आउनेछ ।

झापाका प्रायः सबै स्थानीय तहका जनप्रतिनिधिहरु, कार्यकारी अधिकृत एवम् प्रदेशसभाका सदस्यहरु सहभागी पुस्तक विमोचन समारोहको अध्यक्ष तीर्थ सिग्देलले गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख एवम् सांसदहरुले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सन्तोष आचार्यले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *