बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आज अन्तिम दिन
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडमा गत माघ ११ गतेदेखि सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आज अन्तिम दिन, एक भव्य कार्यक्रमको आयोजना गरी महोत्सव समापन गर्ने आयोजक तयारी भएको छ ।
महोत्सवले बिर्तामोडको परिचयलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जोड्न निकै बल पुर्याएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताएका छन् । महोत्सवभर २२ करोड रुपैयाँको कारोबार अनुमान गरिएको उनको भनाई छ । महोत्सवभर माया र हौसला प्रदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिने उनले जानकारी दिए ।
व्यावसायिक तथा सामाजिक क्षेत्रमा काम गर्ने संघ–संस्था र आदिबासी जनजातिलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष भट्टराईको भनाई छ । महोत्सवबाट पूर्वको प्रमुख व्यापारिक सहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने आफूहरुको लक्ष्य पूरा भएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
घरेलु उत्पादनका उपभोग्य सामाग्रीदेखि भारत, बंगलादेश र पाकिस्तानका स्तरीय उत्पादनहरु एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको शिवाकोटीको तर्क छ ।
महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार मंगलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर महोत्सवको अवलोकन गरेका छन् । विगतका महोत्सवहरुको तुलनामा बिर्तामोड महोत्सव स्तरीय बनेको उनले बताए । महोत्सव समापनको दिन आज साँझ लाहुरेको विशेष सांगीतिक प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक श्याम खड्गीले बताए ।
मेलामा नेपाल बाहेक भारत, बंगालादेश, पाकिस्तानलगायत देशका उत्पादनहरुको प्रदर्शत र बिक्री स्टल राखिएको थियो । नेपालको हिमाली उत्पादन जुम्लाको मार्सी चामल किन्न आउनेको संख्या उल्लेख्य पाइएको छ । महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांश सर्वसाधारण मार्सी चामलको स्टल खोज्दै आउने गरेका विक्रेताले जानकारी दिएका छन् ।
स्टलमा बसेकी शान्ति न्यौपानेका अनुसार राजधानीस्थित हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर सप्लाई गरिरहेको छ । देशैभर मार्सी चामलको माग उच्च रहेकाले हरेक ठाउँमा लाग्ने महोत्सवमा यसको स्टल राख्ने गरिएको स्टलमा रहेकी अर्की बिक्रेता गंगादेवी राउतले जानकारी दिइन् । बिर्तामोड महोत्सवबाट मात्र २ लाख ५२ हजार रुपैयाँको ९ क्वीन्टल मार्सी चामल बिक्री भएको बिक्रेता न्यौपानेको भनाई छ ।
Comments