सहमतिमा झापा बारको नयाँ नेतृत्व
Published: (Updated: )
by .भद्रपुर । प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका लेखनाथ निरौलाको अध्यक्षतामा नेपाल बार एसोसिएसन झापाको नयाँ कार्य समिति चयन भएको छ । आगामी दुईवर्षे कार्यकालका लागि यही माघ २६ लाई तय गरिएको निर्वाचन अगावै सहमति गठन गरिएको हो ।
झापाका प्रगतिशील कानुन व्यवसायी एसोसिएसन र प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसन बीच भएको सहमति बमोजिम एसोसिएसनको सभाहल चन्द्रगढीमा सम्पन्न भेलाबाट प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसनले उपाध्यक्ष, सचिव, सहसचिव र चार जना सदस्य पाएका छन् ।
सहमति अनुसार बारको उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भीम बराल, सहसचिव शान्ता पाठक र कोषाध्यक्षमा अर्जुनकुमार बस्नेत निर्विरोध निर्वाचित भएको झापा बारेले जनाएको छ । त्यसैगरी सदस्यहरुमा बसन्त नेपाल, देवीकुमारी निरौला, तिलकसिंह पाण्डे, शम्भुकुमार थापा, नरबहादुर लिङ्देन, पुन्यप्रसाद सिवाकोटी, लक्ष्मीप्रसाद अधिकारी र दीर्घसिंह पौडेल सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी खगेन्द्र खरेल, दिपकप्रसाद निरौला, उमा कार्की, यज्ञप्रसाद अधिकारी, राजकुमार भट्टराई, मोहनकुमार अधिकारी र रामप्रसाद गणेशलाई केन्द्रीय पार्षदमा चयन गरेको छ ।
२०२२ सालमा स्थापित झापा बारमा विगत १४ वर्षदेखि प्रगतिशील कानुन व्यवसायी एसोसिएसन र प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसनबीच आलोपालो नेतृत्व लिने सहमति भएको थियो ।
Comments