Sajhamanch Archive

प्रथम बलभद्र कपको च्याम्पियन बन्यो इष्ट होराइजन

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

मेचीनगर । इष्ट होराइजन मावि, मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता (प्रथम बलभद्र कप) को च्याम्पियन बनेको छ ।

बलभद्र आधारभूत विद्यालयको आयोजनामा शुक्रबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले पछि पार्दै प्रथम बलभद्र कपको च्याम्पियन बनेको हो । खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि थप गरिएको समयमा समेत गोल हुन नसकेकाले टाइब्रेकरबाट निर्णय खोजिएकोमा होराइजनले बाजी मारेको हो ।

जीतसँगै होराइजनले नगद २५ हजार रुपैयाँ, च्याम्पियनसीप बोर्ड, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । यस्तै उपविजेता बनेको धुलाबारीले नगद १५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । तेस्रो भएको होलीबेल अंग्रेजी स्कूलले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताको उदीयमान खेलाडी धुलाबारी माविका युवराज खबास भए । उनले ओसेनिक बोर्डिङ स्कुलले प्रदान गरेको नगद २ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । खेलको सर्वाेत्कृष्ट खेलाडीको खम्बसिंह रुकमणि थापा अवार्ड इष्ट होराइजन माविका निरज कार्कीले प्राप्त गरे । उनले कमल थापाले प्रदान गरेको नगद २ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

यसैगरी रमेश क्षेत्री स्मृति अवार्डबाट उत्कृष्ट गोलरक्षक इष्ट होराइजनका विवेक खड्का, उत्कृष्ट डिफेन्स होलीबेल अंग्रेजी स्कूलका करण धिमाल, उत्कृष्ट मिडफिल्डर इष्ट होराइजनका अरुण मेचे, उत्कृष्ट स्टाइकरमा धुलाबारी माविका चिन्टु महतो, सर्वाधिक गोलकर्ता पशुपति मावि आमडाँगीका निशान श्रेष्ठ, उत्कृष्ट कोचमा सामुदायिक तर्फ पशुपति माविका खेल शिक्षक गोकुल सुवेदी र निजीतर्फ होलीबेल अंग्रेजी स्कूलका सुरज कार्की घोषित भएर ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

यस्तै ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने फेयर प्ले टीम सामुदाियक विद्यालयतर्फ सरस्वती बालकल्याण धाइजन, निजीतर्फ मेरीगोल्ड एजुकेशन फाउण्डेशन छन् । यी सबै अवार्ड हिमालयन इङ्लिस स्कूल मेचीनगर ९ का संस्थापक प्रिन्सिपल रमेश क्षेत्रीको स्मृतिमा वितरण गरिएको हो ।

माघ १३ गतेबाट सुरु भएको यस प्रतियोगितामा मेचीनगरका १९ वटा निजी र २२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *