Sajhamanch Archive

‘सहकारी सूचना तथा स्रोत केन्द्रको अवधारणा राम्रो लाग्यो’ : सांसद निरौला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

कनकाई । झापा जिल्ला सहकारी संघ लिमिटेडको २२औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ ।

कनकाई नगरपालिकाको जामुनखाडी सीमसार क्षेत्रमा आयोजित साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले गरेकी हुन् ।

उद्घाटन पछि आफ्नो मन्तब्यमा सांसद निरौलाले नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको एउटा गहकिलो खम्बा स्वीकार गरेकाले सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा राष्ट्रिय विकासमा लाग्नुपर्ने बताइन् ।

जिल्ला सहकारी संघले निर्माण गर्न लागेको सहकारी सूचना तथा स्रोत केन्द्रको अवधारणाले आफूलाई पनि आकर्षण गरेको बताउँदै सांसद निरौलाले बहुविषयको तालिम दिने संस्था बनाउन र दक्ष जनशक्ति उत्पादन गर्नका लागि आफ्नोतर्फबाट पनि सहयोग रहने आश्वासन दिइन् ।

सहकारीले उत्पादनको क्षेत्रमा लाग्नुपर्ने कुरा केवल भाषणमामात्र सिमित नराखी सबै सहकारीहरुले घरेलु र कुटिर उद्योग सञ्चालन गरेर आफ्ना सदस्यलाई स्वरोजगार बनाउन सकिने सांसद निरौलाको सुझाव छ ।

साधारणसभा उद्घाटन समारोहका अर्का वक्ता राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष के बी उप्रेतीले बैंकको नेतृत्व सधैंभरि सदस्य संस्थाको वित्तीय आवश्यकता पूरा गर्न तथा सरकारले निर्माण गर्ने ऐन नियमहरुलाई सहकारीमैत्री बनाउन लविङ गरिरहेको बताए ।

अध्यक्ष उप्रेतीले आफ्ना सदस्य संस्थाहरु तथा जिल्ला संघसँग सहकार्य गरेर बैंकले वित्तीय व्यवस्थापनका तालिमहरु प्रदान गर्ने उद्देश्य राखेको अवगत गराए । जिल्ला संघ तथा विषयगत संघहरुले वित्तीय कारोबार गर्न नहुने जिकिर गर्दै अध्यक्ष उप्रेतीले यस्ता तहले समन्वयकारी भूमिका खेल्नुपर्ने सुझाए ।

अर्का वक्ता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले संघको विगतका कार्यसमितिभन्दा वर्तमान समितिले प्रशंशनीय काम गरेको आफूलाई लागेको बताए । भने, संघको वर्तमान कार्यसमितिले वित्तीय कारोबार गरेर सदस्य संस्थाहरुलाई आर्थिक भरथेग गरेको एवम् दिनहुँ मूल्य बढिरहेको स्थिर सम्पत्ती जमिन किनेर संस्थालाई बलियो बनाएको छ । यस्तो संस्थासँग निजीक्षेत्र पनि काम गर्न इच्छुक छ ।

संघका सचिव युवराज ढकालले सञ्चालन गरेको उद्घाटन समारोहमा अध्यक्ष गणेश ढकालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा संघमा ४८९ वटा सहकारी संस्थाहरु सदस्य रहेका छन् भने एक करोड ६५ लाख १० हजार ५०० रुपैयाँ शेयर पूँजी रहेको उल्लेख छ ।

यस्तै संघसँग ७४ लाख ८७ हजार रुपैयाँको कोष रहेको छ भने नौ करोड ६७ लाख रुपैयाँ निक्षेप मौज्दात रहेको जनाइएको छ । संघले गत आर्थिक वर्षमा पाँच करोड ११ लाख ५६ हजार रुपैयाँ सदस्य संस्थामाझ लगानी गरेर तिनको वित्तीय आवश्यकता व्यवस्थापनमा सघाउ पुर्याएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष ढकालले संघले जिल्लाका सबै सहकारी संस्थाहरुको क्षमता बृद्धिका लागि यो वर्ष सप्ताहव्यापी तालिम कार्यक्रम सञ्चालन गर्ने नीति लिएको र यही फागुन १६ गतेदेखि सञ्चालन गर्ने कार्यतालिका पनि सुनाए ।

यस्तै संघले अघि सारेको झापा को–अप स्टेण्डर्ड कार्यान्वयनका लागि फागुन १५ देखि २१ गतेसम्म जिल्लाका चार स्थानमा अन्तरक्रिया गरी ब्लक निर्माण गर्ने कार्यक्रम बनाइएको छ ।

संघले स्थानीय तहले तयार गर्ने सहकारी ऐन निर्माणमा समन्वय गरिरहेको, बीमा सुरक्षण कार्यक्रममा सहकारी अभियानलाई जोडको, सहकारी सफ्टवेयर कोपोमिसको जडानमा सहयोग गरिरहेको पनि अध्यक्षले सभालाई अवगत गराए ।

२९८ सदस्य संस्थाबाट सहभागिता रहेको साधारणसभाको बन्दसत्रमा लेखा सुपरीवेक्षण समितिका संयोजक भलकाजी कठेतले प्रतिवेदन पेश गरेपछि सहभागीहरुले विभिन्न विषयमा सञ्चालकहरुसँग प्रश्न राखेका थिए । उठेका प्रश्नहरुको अध्यक्षले जवाफ दिएपछि संघले अघि सारेको नीति र कार्यक्रमहरु साधारणसभाले पारित गरेको थियो ।

साधारणसभाको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष के बी उप्रेती, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती र सञ्चालक सदस्य महेन्द्रकुमार गिरीलाई बधाई ज्ञापन गर्दै कार्यसफलताको शुभकामनासहित सम्मान गरियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *