Sajhamanch Archive

कमल गाउँपालिकाका दुई सहकारी एकीकरण

Published: in राष्ट्रिय समाचार, सहकारी by .

कमल । यहाँका दुईवटा सहकारी संस्थाहरु एकीकरण गरिएको छ । वि. सं. २०२२ सालमा साझा संस्थाको रुपमा स्थापना भएको कमल गाउँपालिका कै सबैभन्दा जेठो कमलेश्वरी सहकारी संस्था र २०६६ सालमा स्थापित क्याम्पा कृषि सहकारी संस्थाबीच एकीकरण भएको हो ।

क्याम्पा कृषि सहकारी स्थानीय विकास कोषबाट सामुदायिक विकास कोष मार्फत् सञ्चालन हुँदै पछिल्लो समय सहकारीमा रुपान्तरण गरिएको संस्था हो । एकीकरण पछि सहकारीको नाम कमलेश्वरी क्याम्पा बहुमुखी सहकारी संस्था लिमिटेड बनाइएको छ । एकीकृत सहकारी संस्थाको पूँजी अब २ करोड ३५ लाख रुपैयाँभन्दा बढी भएको जनाइएको छ । संस्थाको सदस्य संख्या अब ९५४ जना पुगेको छ । कमल गाउँपालिकामा अहिले ४८ वटा सहकारीले कारोबार गरिरहेका छन् ।

एकीकरण पछि पदमराज तुम्वापोको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति बनेको छ । सञ्चालक समितिको उपाध्यक्षमा विरभद्र पोख्रेल तथा सदस्यहरुमा पुष्प बस्नेत, भोलानाथ चिमरिया, बाबुलाल मर्डी, यसोदा भट्टराई, शान्ता दाहाल, डिल्ली दुलाल, विरेन्द्र अधिकारी, शारदा पौडेल, बाबुराम कोइराल ाचयन भएका छन् । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा लेखबहादुर बुढाथोकी र सदस्यहरुमा जीवनाथ भट्टराई र सरस्वती सेडाईं सर्वसम्मत चयन भएको संस्थाका व्यवस्थापक रविन्द्रप्रकाश चापागाईंले जानकारी दिए ।

कमलेश्वरी सहकारी संस्थाका अध्यक्ष विरभद्र पोख्रेलको अध्यक्षतामा भएको एकीकरण कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन राईले संस्था एकीकरण हुनु सहकारी अभियानका लागि राम्रो भएको बताए । त्यसैगरी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आफ्नो गाउँपालिकामा भएका सहकारी संस्थाहरुबीच एकीकरण गर्ने कामको थालनी भएकोमा खुशी व्यक्त गरिन् ।

संस्था एकीकरण समारोहमा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, चक्र गुरुङ्ग, राजन ढुङ्गानालगायतले मन्तव्य राखेका थिए । रविन्द्र चापागाईंले सञ्चालन गरेको कार्यक्रममा उपस्थितहरुलाई पदमराज तुम्वापोले शब्द स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *