धनगढी प्रिमियर लिग : काठमाण्डौले महेन्द्रनगरलाई दियो १३६ रनको लक्ष्य
Published:
by .धनगढी प्रिमियर लिग अन्तर्गत काठमाण्डौ गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई एक सय ३६ रनको लक्ष्य दिएको छ । फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनाए ।
आज पनि कमजोर सुरुवात गरेको काठमाणडौ आठ रन बनाउँदा दुई विकेट गुमाएको थियो । उनका दुवै ओपन गौरव तमोर एक र अनिलकुमार शाह ६ रनमा आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल पनि १४ रनमा पेभेलियन फर्किएपछि काठमाण्डौ ३७ रनमा तेस्रो विकेट गुमायो । काठमाण्डौ विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५८ रन बनाउँदा अरु दुई विकेट गुमाउन पुग्यो ।
महबुब आलम १३ रनमा पेभेलियन फर्किए भने सोनु तामाङ मात्र एक रनमा बाहिरिए । अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धसतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । अंकितले अविजित ६६ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजित २२ रनको योगदान गरे । बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिए ।
Comments