नकआउट भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ को पोल्टामा
Published:
by .मेचीनगर । प्रथम विर्तामोड नगरस्तरीय अन्तर वडा नकआउट पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ ।
विराट बहुदेश्यीय सहकारी संस्थाले आयोजना गरेको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा प्रतिष्पर्धी वडा नम्बर १० पराजित भएको हो ।
नगरका १० वटा वडा सहभागी प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर १० लाई २०–२५, १७–२५ र १४–२५ को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले नगदराशी ५१ हजार तथा उपविजेता टिमले ३१ हजार रुपैयाँसहित ट्रफि, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
फाइनल खेलको उत्कृष्ट खेलाडी विजयी टिमका राजेश कँडेल, प्रतियोगिताको वेष्ट स्पाइकर वडा नम्बर ४ का सिताराम बस्नेत, सिरीज अफ दी टुर्नामेन्ट वडा नम्बर ३ का विमान खड्का र फेयर कप टिम वडा नम्बर ३ घोषित भए ।
वडा नम्बर ३ स्थित विर्ता पब्लिक क्याम्पसको खेल मैदानमा भएको प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने उनीहरुलाई जनही नगदराशी ५ हजार रुपैयाँसहित पुरस्कृत गरियो ।
त्यस्तै, प्रतियोगिताको वेस्ट लिफ्टर घोषित वडा नम्बर ६ का दिवश भट्टराई र राइजिङ अफ दी प्लेयर घोषित उप विजेता टिमका विशाल राजवंशीले क्रमशः नगदराशी ३ हजार र २२ सय रुपैयाँ पाए ।
विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको विजेता, उप विजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति अध्यक्ष शङ्कर थापा, विशेष अतिथि नेपाल बक्सिङ सङ्घ केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, आयोजक संस्थाका अध्यक्ष मोहन शिवाकोटी, सचिव रुद्र सिटौलालगायतले पुरस्कृत गरेका हुन् ।
Comments