तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा झापा–११ विजयी
Published:
by .बुटवल । तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१औं संस्करण शनिबारदेखि सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा वि.सं. २०३३ सालदेखि सन्चालित प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले पराजित गर्यो ।
रुपन्देहीको देवीनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरमा भएको खेलको नवौं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै झापा–११ लाई अग्रता दिलाएका थिए ।
५०औं मिनेटमा झापाकै बुद्ध बल तामाङले गोल गर्दै टिमलाई २–० ले जिताए । जितसँगै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा झापा, एपीएफसहित, नेपाल पुलिस क्लब, सुनसरी–११, रुपन्देही–११, मनाङ–मर्सयाङ्दी क्लब, संकटा क्लब, ब्रदर्स युनाइटेड क्लब भारत, क्यामरुनको दाउफिन्स क्लबलगायत १० टिमको सहभागिता रहेको छ ।
उपाधि विजेताले रनिङ गोल्डकपसँगै नगद ८ लाख ८० हजार तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, सर्वोत्कृष्ट एकजना खेलाडीले एउटा मोटरसाइकल पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट पाँच खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।
Comments