Sajhamanch Archive

बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति

Published: in मुख्य समाचार, विज्ञापन, by .

सरकारले उद्यमी–व्यवसायीमैत्री वातावरण बनाएको भनेर दावी गरे पनि बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरले उद्योग व्यवसाय थलिएको छ । बैंकहरूको लगातारको चर्को ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेकोले उद्योगी–व्यवसायी ब्याज घटाउन माग राख्दै सडकमा उत्रनुपर्ने अवस्था आएको छ । बैंकहरुबीच अस्वाभाविक रुपमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा चलेको छ । वर्षमा चार पटकसम्म ब्याज बढेको छ । बढ्दो व्याजदरले उद्योग क्षेत्रमा लगानी प्रभावित हुने र सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धि तथा पाँच लाखलाई रोजगारी थप्ने लक्ष्य हासिल हुन कठिन हुने निश्चित छ ।

लामो समयदेखि उद्योगी–व्यवसायीले लिने ऋणको ब्याजदर औषतमा १४ प्रतिशत माथि पुगेको छ । अर्कोतिर निक्षेपको ब्याजदर घट्दा पनि ऋणको ब्याज नघटेपछि हामी उद्योगी व्यवसायी ठूलो समस्या र पीडामा छौं । ऋण र निक्षेपको व्याज दरबीच ठूलो अन्तर देखिएको छ । उद्योग व्यवसाय सुक्दै मर्दै गएका छन् भने बैंक तथा वित्तीय संस्था मोटाइरहेका छन् । मात्र नाफा कमाउने र मोटाउने उद्देश्य देखिएको छ वैंक तथा वित्तीय संस्थाको । चर्को ब्याजदर वृद्धिका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणाधिन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्था छ । ऋण बिना उद्योग व्यापार व्यवसाय सम्भव छैन । साना व्यवसाय गर्नेहरु ऋणको व्याज पनि तिर्न नसक्ने अवस्थामा पुगेका छन् । तिनका आश्रित परिवारको अवस्था दयनीय बन्दै गएको छ । यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघले उठाएका विषयलाई सम्बन्धित निकायबाट प्राथमिकता दिई ब्याजदर वृद्धिलाई नियन्त्रण गरी समस्या समाधान गर्ने प्रतिवद्धताका वावजुद पनि चर्को ब्याजदर नियन्त्रण गर्नेतर्फ कुनै प्रगति नहुँदा त्यसबाट मुलुकभरका उद्योग व्यवसाय क्षेत्र निकै प्रताडित हुन पुगेका छन् ।

अव्यावहारिक ढंगबाट एकतर्फीरूपमा ब्याजदर बढाइँदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई समेत प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने भएकोले ब्याजदर बृद्धिलाई निश्चित सीमा भित्र रहने वातावरण कायम गर्नुपर्ने हाम्रो ठहर छ । दूई अंकको व्याजदर घटाएर एक अंकको मापदण्डमा ल्याउन जोडदार माग गर्दछौं । तत्काल व्याजदर घटाएर हाम्रो माग सम्बोधन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक समक्ष माग गर्दछौं । यो विषयमा गम्भीर बन्न वित्तीय तथा बैंकिङ्ग क्षेत्रका पदाधिकारीहरू तथा बैंकर्स एसोसिएसनको समेत ध्यानाकर्षष गराउँदछौं । हामी उद्योगी व्यवसायीका माग तत्काल सम्वोधन नभए बाध्य भएर चरणबद्ध आन्दोलन गर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।

भेषराज भण्डारी प्रशान्तः महासचिव                                                            कुमार भट्टराई : अध्यक्ष

बिर्तामोड उद्योग वाणिज्य संघ, बिर्तामोड झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *