Sajhamanch Archive

ट्याक्सी चालक दीपक पाण्डेका हत्यारा १० वर्षपछि पक्राउ !

Published: in राष्ट्रिय समाचार, लोकप्रिय by .

बिर्तामोड । मानिसको हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई १० वर्षपछि पक्राउ गरी आज विराटनगरमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले झापाको अर्जुनधारा नगरपालिका–२ का ४३ वर्षीय शरण भट्टराईलाई काँकरभिट्टाबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको हो ।

केमेष्ट्रीमा स्नातकोत्तर गरी पोखराको अन्नपूर्ण कलेजमा अध्यापन गराउने आरोपी भट्टराईको मोबाइल कल रेकर्डको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिएका छन् ।

आरोपी भट्टराईले वि सं २०६५ चैत ३१ बेलुकी ११ बजे ट्याक्सी चालक बिर्तामोड नगरपालिका–४ का २७ वर्षीय दीपक पाण्डेको हत्या गरी बेलबारी नगरपालिका–१० पूर्व–पश्चिम महेन्द्र रजमार्गको भाउन्ने चोक दक्षिणपट्टीको चौरमा फालेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।

पुरानो चिनजानको अवस्थामा को १ च ३८५० को मारुती कार झापाबाट इटहरीसम्म जाने भाडा लिई बीच बाटोमा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाई बेहोस अवस्थामा चालक पाण्डेको हत्या गरी कार लिई फरार भएको प्रहरीले जनाएको छ ।

आरोपी भट्टराईले रकमको प्रलोभनमा पाण्डेको हत्या गरी भोलिपल्ट पोखराको हीरा मोटरपार्टस् एण्ड ग्यारेज सञ्चालक हीरा गिरीलाई ६५ हजारमा धरौटी राखी श्रीमती छोरासहित भारततर्फ फरार रहको जनाइएको छ ।

भारतको आसाम लगायत विभिन्न स्थानमा बसोवास गरिरहेका आरोपी भट्टराईलाई हत्याको प्रमाण जोडिएको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीको भनाई छ ।

निजलाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यानको मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *