महिला विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई हरायो
Published:
by .काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ।
सोमबार थाईल्याण्डको बैंककमा भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको थियो। नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्र बनायो । चीनका लागि झाङ मेईले सबैभन्दा बढी ३३ रन जोडिन्। इनिङको अन्तिम बलमा रन आउट हुनुअघि उनले ३९ बलमा २ चौका प्रहार गरिन् ।
यस्तै सियुन झुओले पनि १८ रनको योगदान दिइन् । उनले ६१ बलमा कुनै बाउन्ड्री भने प्रहार गर्न सकिनन् । बलिङमा नेपालकी सीताराना मगरले ३ विकेट लिइन् । अन्तिम ओभरमा चीनलाई जितका लागि १६ रन चाहिएको स्थितिमा बलिङ गरेकी सीताले १ विकेट लिँदा १० रन खर्चिएकी थिइन्। त्यसअघिका ओभरमा राम्रो बलिङ गरेकी उनले ४ ओभरमा १९ रन दिइन्। कविता कुवँरको नाममा १ विकेट रह्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् । यस्तै सिता राना मगरले ११ रन जोड्दा बिन्दु रावलले १० रन जोडिन । नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् । चीनकि वाङ मेङ र हान लिलीले समान २/२ विकेट लिईन् । चीनमाथिको जित छनोटमा नेपालको चौथो जित हो । जितसंगै नेपालले ५ बाट ८ अंक जोडे छ ।
नेपालले छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । नेपाल तेस्रो स्थानमा समेत उक्लिएको छ । शीर्ष स्थानको थाइल्यान्डको १० अंक छ भने दोस्रो स्थानको युएईको ८ अंक छ। अन्तिम खेलमा युएई र थाइल्यान्डबीच खेल हुँदैछ। पराजित चीन ६ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा छ । नेपालले आइतबार भएको आफ्नो चौथो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो।
तेस्रो खेलमा नेपालले दोस्रो स्थानको युएईलाई ७ विकेटले हराएको थियो। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो। दोस्रो खेलमा भने नेपाललाई आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको थियो। अब नेपालले कुवेतसंग बुधबार खेल्नेछ । छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।
Comments