मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा शुक्रबार गरिने
Published:
by .पोखरा । हेलिकप्टर दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा गरिने भएको छ ।
कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए।
मन्त्री अधिकारीको जन्मस्थान पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा भएको हो ।
स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ ।
गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौं खुलामञ्चमा सम्मानका लागि लगिनेछ । अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार नै निर्णय गरिसकेको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिएका छन् ।
Comments