Sajhamanch Archive

सहकारी संघको तालिम सप्ताह सुरुः नेतृत्वबारे आरसीले गरे सहजीकरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । झापा जिल्ला सहकारी संघले आजदेखि साताव्यापी तालिम कार्यक्रमको अभियान सुरु गरेको छ ।

संघको २२औं वार्षिक साधारणसभाको निर्णयानुसार आज फागुन १६ गतेदेखि २२ गतेसम्मलाई यो वर्ष तालिम सप्ताहका रुपमा कार्यक्रम गर्ने तय भएको हो । बिर्तामोडमा आयोजित सञ्चालक क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी आजको सेसनलाई अग्रज सहकारीकर्मी रामचन्द्र उप्रेतीले सहजीकरण गरेका छन् ।

‘नेतृत्व विकासबारे केही कुरा’ शीर्षक दिएर सहजीकरण थालेका एनएमसीका अध्यक्ष उप्रेतीले भने, ‘नेतृत्वले मातहतलाई कन्भिन्स गर्न सक्नुपर्छ, सकिएन भने सम्झौतामा कुरा टुङ्ग्याउनु पर्छ ।’ नेतृत्व वा नेता को हो र कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा उप्रेतीले थपे, परिस्थितिको सही विश्लेषण गर्ने, गर्न चाहेको के हो त्यसको परिकल्पना प्रस्तुत गर्दै अघि बढ्नसक्ने मानिस नेता हुन सक्छन् ।

नेतृत्वमा पुगेकाहरुले सिद्धान्तको रड लगाएर हिंडिरहेमा पाइलैपिच्छे धोका हुने भन्दै सहकारी अभियन्ता उप्रेतीले सहकारी संघ–संस्थामा नेतृत्व गर्नेहरुले ऐन, नियम कार्यान्वयन गर्नेमात्र नभई आवश्यकताअनुसार आफूहरुले नै बनाउन सकिने धारणा राखे ।

जिल्ला संघका सदस्य सहकारीहरुबाट करिब ३०० जनाजति सहभागी रहेको तालिम औपचारिक कार्यक्रम बिनानै सुरु गरिएको थियो । हिजो ताप्लेजुङमा भएको हेलिकप्टर दूर्घटना र सोमा सवार पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित उच्च सरकारी अधिकारीहरुको असामयिक निधनका कारण एक मिनट मौनधारण पछि अनौपचारिक तवरले आजको सेसन सञ्चालन गर्नुपरेको सचिव युवराज ढकालले जानकारी दिए ।

तालिम सप्ताह अन्तर्गत फागुन १७ गते शुक्रबार दमकमा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले लेखा समितिको क्षमता विकास सम्बन्धी विषयमा सहजीकरण गर्नेछन् । यस्तै, फागुन १८ गते शनिबार बजार प्रतिनिधिहरुको क्षमता विकास विषयमा मेची सहकारीका व्यवस्थापक खोम बगालेले बिर्तामोडको कर्णाली साकोसको सभाहलमा आयोजना गरिने तालिमको सहजीकरण गर्ने जनाइएको छ ।

तालिम सप्ताहअन्तरगत फागुन १९ गते दमकको मेची सहकारीको सभाहलमा बजार प्रतिनिधिहरुको क्षमता विकास विषयमा मनहरि निरौलाले सहजीकरण गर्ने तय भएको छ भने फागुन २० गते दमक बहुमुखी सहकारीको सभाहलमा कर्जा व्यवस्थापन विषयमा संघका सहसचिव भवानीप्रसाद दंगालले सहजीकरण गर्ने जनाइएको छ ।

जिल्ला संघको साधारणसभाले पारित गरेको तालिम सप्ताहको क्यालेण्डरअनुसार फागुन २१ गते मेची कृषक सहकारी संस्था इटाभट्टाको सभाहलमा सोही संस्थाका सञ्चालक तेजप्रसाद चौंलागाईंले वित्तीय साक्षरता विषयमा तालिम दिनेछन् । यस्तै सप्ताहको अन्तिम दिन फागुन २२ गते संघका सञ्चालक अर्जुन दंगाल र लेखा समिति सदस्य चूडामणि ओझाले पल्स अभिमुखीकरण गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *