Sajhamanch Archive

निर्मलाको उपचारका लागि आर्थिक सहयोगको अपील

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । झापा मेचीनगर ६ काँकरभिट्टाकी २६ वर्षीया निर्मला राईको उपचारका लागि आर्थिक सहयोग गरिदिन स्वर्गीय गंगामाया तथा नरबहादुर वस्नेत क्यान्सर पीडित संस्था बिर्तामोडले आग्रह गरेको छ ।

छालामा लाग्ने एसएलई रोगबाट थलिएकी निर्मलाको घरमा शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको हो । संस्थाका अध्यक्ष भुपाल बस्नेतले झापाबासीमा सहयोगको आग्रह गरेका हुन् ।

बस्नेतले भने ‘तपाई हाम्रो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने किन सहयोग नगर्ने, यसकारण जे जति सकिन्छ आउनुहोस् निर्मलाको उपचारका लागि जुटौं ।’

११ महिनादेखि रोगले थलिएकी निर्मलाको उपचारमा अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको र अझै त्यति नै रकम चाहिने भएको छ । निर्मलाको आर्थिक अवस्था कमजोर भएका कारण संस्थाले उनको उपचारका लागि आर्थिक संकलन अभियान शुरु गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

गत वैशाखामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा १ महिना भर्ना भएर उपचार गराए पनि अहिले पुनः रोगले च्याप्न थालेको निर्मलाको भनाई छ । हरेक १५÷१५ दिनमा उपचारका लागि निर्मलाले अस्पताल जानुपर्ने बाध्यता छ ।

चिकित्सकले शुरुमा मुटुमा समेत असर देखाएर पानी निकालेको निर्मलाले बताइन् । उनका श्रीमान रोजगारीका लागि भारतको बम्बइमा छन् । मेचीनगर ४ आमडाँगीमा विवाह गरेकी निर्मला अहिले माइती घरमा नै बस्दै आएकी छन् ।

‘म बाँचेर समाजमा केही गर्न चाहन्छु’ निर्मलाले पत्रकारहरुमाझ भनिन्, ‘मलाई बाँच्न मन छ, मलाई बचाउने वा यत्तिकै मर्न दिने तपाईंहरुको हातमा छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *