पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङ्गलाई
Published:
by .मेचीनगर । एक नम्बर प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा मोरङ च्याम्पियन भएको छ ।
प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी सोलुखुम्बुलाई पराजित गरी मोरङले उपाधि हात पारेको हो । भद्रपुरस्थित मेची रङ्गशालामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा मोरङ प्रथम, सोलुखुम्बु द्वितीय र उदयपुर तृतीय बनेका हुन् ।
सो कार्यक्रममा जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भई प्रदेशस्तरीय प्रतियोगितामा भाग लिई उत्कृष्ट हुने विभिन्न जिल्लाका खेलाडीलाई मेडल तथा प्रमाण पत्रसहित पुरस्कृत गरियो ।
सो अवसरमा प्रदेशस्तरीय कबड्डी, सेपाक ताक्रो, एथ्लेटिक्स, बुद्धिचाल र भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक हात पार्ने झापाका महिला तथा पुरुष खेलाडी नगदराशीसहित पुरस्कृत भए ।
उक्त प्रतियोगितामा झापाले कबड्डी पुरुषतर्फ १० र महिलातर्फ १०, सेपाक ताक्रोको महिलातर्फ ५, एथ्लेटिक्सको पुरुषतर्फ ३, बुद्धिचालको पुरुषतर्फ १ र महिलातर्फ १ र भारोत्तोलनको पुरुषतर्फ १ तथा महिलातर्फ २ वटा स्वर्ण पदक प्राप्त गरेको थियो ।
उनीहरुलाई प्रमुख अतिथि पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष रवीन नगरकोटी, झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनाली, मेची भन्सार कार्यालय प्रमुख टेकबहादुर अर्याल, झापा खेलकुद विकास समिति उपाध्यक्ष भेषराज भण्डारी, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, समिति मोरङ अध्यक्ष किशोरलाल अमात्य, सोलुखुम्बु अध्यक्ष डिबी रानापाललगायतले पुरस्कृत गरेका थिए ।
म्याच कमिस्नार गम्भीर राईका अनुसार सो प्रतियोगितामा १४ जिल्लाबाट एक जिल्ला बराबर १६ जना खेलाडीले भाग लिएका थिए ।
उनका अनुसार प्रदेशस्तरीय छनोटबाट छानिएका उत्कृष्ट खेलाडीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा उक्त प्रतियोगिता भएको हो ।
झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शङ्कर थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए ।
Comments