नगरपालिका कर्मचारीको फुटबल भद्रपुर, अर्जुनधारा, विर्तामोड र कनकाई सेमीमा
Published:
by .भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरमा अन्तर नगरपालिकास्तरीय कर्मचारी फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
शनिबार प्रतियोगिता उद्घाटनसँगै चार खेल सम्पन्न भएका छन् । ती खेलबाट विजयी बनेका भद्रपुर, अर्जुनधारा, विर्तामोड र कनकाई नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भद्रपुर नगरपालिका इकाईको आयोजनामा भद्रपुर माविको खेल मैदानमा भएका खेलमा भद्रपुर नगरपालिकाले गौरादह नगरपालिकालाई ५–० ले, अर्जुनधारा नगरपालिकाले दमक नगरपालिकालाई टाइब्रेकरमा ७–६ ले, विर्तामोड नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई ३–० ले र कनकार्य नगरपालिकाले मेचीनगर नगरपालिकालाई ८–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
यही२४ गते शुक्रबार सेमीफाइनल र २५ गते शनिबार फाइनल खेल मेची रंगशालामा सम्पन्न हुने आयोजक इकाईका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिए । प्रतियोगिताको विजेताले ३० हजार नगद तथा शील्ड र उपविजेताले २० हजार नगद तथा शील्ड प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ३ हजार नगदसहित ट्रफी प्राप्त गर्ने आयोजक एशोसिएशनका सचिव सुशील कर्णले जानकारी दिए । सेवाग्राहीको काम प्रभावित नहुने गरी प्रतियोगिता आयोजना गरिएको पनि सचिव कर्णले बताए ।
प्रतियोगिताको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए । आयोजक इकाईका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सामाजिक शाखा प्रमुख राजन न्यौपानेले सञ्चालन गरेको उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले प्रतियोगिताको माध्यमबाट नगरपालिकाका कर्मचारीबीच परिचय र मित्रभाव बढाउने अवसर प्राप्त भएको उल्लेख गरे भने प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलगायतले जीत–हारभन्दा पनि भाइचारा अभिबृद्धि गर्ने भावनाले खेल्न खेलाडी कर्मचारीहरुलाई आग्रह गरे ।
प्रतियोगितामा प्राविधिक सहयोग भद्रपुरस्थित मुनाल क्लवको रहेको छ । अघिल्लो वर्ष कनकाई नगरपालिकाको एशोसिएशनले आयोजना गरेको प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको थियो ।
Comments