Sajhamanch Archive

पिएचडीको छात्रबृत्ति त्यागेर बाम आन्दोलनमा होमिएका थिए भरतमोहन

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

विराटनगर  । विराटनगरलाई कर्मथलो बनाएर बामपन्थी राजनैतिक आन्दोलनमा होमिएका अग्रज बाम नेता अनि सामाजिक व्यक्तित्वका रुपमा समेत चर्चित पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको मृत्यु भएको छ ।

विराटनगरले अति नै रुचाएको नेतालाई नागरीक अभिनन्दनसमेत गरिएको थियो । २१ दिनदेखि उपचारमा रहेका अधिकारीको हेम्स अस्पतालमा मृत्यु भएको हो । २०५२ सालमा तत्कालिन नेकपा एमालेको अल्पमतको सरकारका अर्थमन्त्री हुदाँ उनले सुरु गरेको वृद्ध भत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता सुरु गरेका कारण पनि उनको लोकप्रियता निक्कै चुलिएको हो । अधिकारी पछि ४ पटकसम्म मन्त्री हुन सफल भए ।

पारिवारीक पृष्ठभूमीको चर्चा गर्नु पर्दा २२ बैशाख १९९३ सालमा महोत्तरी जिल्लाको भ्रमणपुरामा जन्मिएका भरतमोहन पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका भाई हुन् । मनमोहन, कृष्णमोहन र जगतमोहनपछि भरतमोहनको जन्म भएको थियो भने शुशिला अधिकारी उनकी बहिनी हुन् ।

पूर्व उपप्रधानप्रधानमन्त्री भारत मोहनले भारतको इलाहाबादबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका थिए । विराटनगरको आर्दश माविबाट प्रारम्भीक शिक्षा सुरु गरेका भारतमोहनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातक तह पूरा गरेका थिए । पछि त्रिभुवन विश्वविद्यालयबाट उनले अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्मको अध्ययन गरेका थिए ।

एमालेको नौ महिने शासनकालमा उनी अर्थमन्त्री हुदाँ जेष्ठ नागरिकहरुलाई बृद्ध भत्ता सुरु गर्ने, गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी कार्यक्रम, आफ्नो गाँउ आफैँ बनाउँ लगायतका लोकप्रिय कार्यक्रम ल्याएर चर्चामा आएका थिए । पहिलो पल्ट जेष्ठ नागरिक र सुत्केरीलाई भत्ता दिएपछि प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको पहिलो बामपन्थी सरकारले सर्वत्र चर्चा र लोकप्रियता बढेको थियो ।

कम्युनिष्टहरुले बुढापाकाहरुलाई मार्छन् भन्ने हल्लाकाबीच लोकप्रिय कार्यक्रम ल्याएर भ्रम चिर्नसमेत त्यो नौ महिने सरकारलाई सहज भएको थियो । उनले सन १९५२ मा १६ वर्षको उमेरमा भारतको बनारसमा हुँदा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । अधिकारी २००८ सालमा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष थिए ।

उनकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कूलको बोर्ड ढुंगाले हानेर कुच्याएर आर्दश स्कूलको बोर्ड राखिएको थियो । पूर्वअर्थमन्त्री अधिकारी २०४८, ०५१ र ०५६ सालमा मोरङबाट नै निर्वाचित भएका थिए । विराटनगरकै एलिट क्लबमा उनी लामो समय महासचिव भएका थिए ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा समेत उनले अध्यापन गरे भने विराटनगर मै बस्दा वकालत समेत गरेका थिए । त्यत्ति मात्र हैन उनी पञ्चायतको विरोधमा संघर्ष गर्दा बिराटनगरकै जेलमा बन्दीका रुपमा बस्नु परेको थियो ।

उनले विसं २०१५ मा कम्युनिष्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका निभाएका थिए । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध कु गरेपछि उनले सोभियत संघमा पिएचडी गर्न पाएको छात्रवृत्ति समेत त्यागेर संघर्ष रोजे । भरतमोहनले २०१८ सालदेखी कोशी प्रान्तीय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनलाई सक्रिय बनाइराखे ।

अधिकारी साईकल चढेर गाउँगाउँमा कम्युनिष्ट पार्टीको पर्चा वितरण गर्थे । तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि उनले २०१९ मा नेकपाको तेस्रो महाधिवेशन गराउन पहल गरेका थिए । जसमा पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यसहित देशभरबाट एक सय बढी क्रान्तिकारीहरु सहभागी भएका थिए । उनी तेस्रो महाधिवेशनबाट पोलिटव्यूरो सदस्य निर्वाचित भएका थिए ।

उनी तात्कालिन माले र माक्र्सबादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि चिनिन्छन् । २०४६ को पञ्चायतविरुद्धको आन्दोलनमा उनले बाम मोर्चा गठनमा सक्रिय रुपमा भूमिका खेलका थिए । उनकै पहलमा सातवटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण गरेपछि पञ्चायतविरुद्धको आन्दोलन सफल भएको थियो ।

कम्युनिष्ट पार्टीको छैठौँ, सातौँ र आठौँ महाधिबेशनबाट उनी लगातार स्थायी समितिमा निर्वाचित भएका थिए । २०७१ को महाधिबेशनबाट उनले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेका थिए । पटकपटक मन्त्री भएका उनले अर्थ, कानून, उर्जा, निर्माण वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका थिए । उनका लोकप्रिय कार्यक्रमहरुमा नौ स को अभियान, राष्ट्रिय विभूतीका नाममा सडकको नामाकरण, हेटाँैडा काठमाण्डौ सुरुगंमार्ग, सडकको दुवै किनारमा वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमानश्रीमतीको संयुक्त नाममा जग्गा पास, गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी आदी हुन् ।

सबै राज्यले गर्नुपर्छ र सबै बजारलाई छाड्नुपर्छ भन्ने दुवै अतिवादी चिन्तनकाबीचबाट उनले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीतिअनुसार कार्यक्रम अघि बढाएका थिए । बजेटमा समाजिक कार्यक्रमहरु सुरु गर्ने मन्त्रीका रुपमा पनि भरतमोहनलाई चिन्न सकिन्छ ।

२०६१ सालमा राजा ज्ञानेन्द्रले कु गरेर सत्ता हातमा लिँदा अधिकारी उपप्रधानमन्त्री नै थिए । शाही शासनकालमा उनलाई पक्राउ पछि घरमै तीन महिनासम्म नजरबन्दमा राखिएको थियो । फेरि २०६२ मा पनि ज्ञानेन्द्र शासनविरुद्ध संघर्ष गर्दा उनलाई नजरबन्दमा राखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *