Sajhamanch Archive

प्रधानमन्त्री ओलीको आह्वानः कोही वास्तविक कम्यूनिष्ट भए नेकपामा आएर समाहित हुनुहोस्

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना पुरा गर्न पार्टी एकता गरिएको बताएका छन् ।

४६ औं सुखानी स्मृति दिवशको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मण गरे । “म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें” प्रधानमन्त्री ओलीले भने, “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।”

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको जानकारी दिए । “झापा आन्दोलनका शहीद मात्र होइन गणतन्त्रका लागि लडेका सबै शहीदहरुको योगदान महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले सुखानी उभिएर भने,“म यही शहीद भूमिबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि शहीदका सपना पुरा गर्नका लागि भएको हो ।”

प्रधानमन्त्री ओलीले लुटपाट गर्ने, चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्यूनिष्ट भन्न नसकिने बताए । “जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस” प्रधानमन्त्री ओलीले भने “म यो शहीद भूमिबाट फेरी एक पटक आह्वान गर्छु , कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस ।”

प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको बताए । “केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास, निर्माण , सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो ।”

प्रधानमन्त्री ओलीले सुखानी शहीदको सालिकमा माल्यार्पण गरेका छन् ।  वि.सं. २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुंइकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो । कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *