Sajhamanch Archive

निर्मला हत्या प्रकरण नयाँ मोडमा : एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

महेन्द्रनगर । निर्मला हत्याकाण्डको सात महिनापछि कञ्चनपुर जिल्ला अदालतमा सोही प्रकरण सम्बन्धमा दुईवटा मुद्दा दर्ता भएका छन् ।

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरी विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरिएको हो ।

सरकारी वकिल कार्यालय कञ्चनपुरका सहायक न्यायाधिवक्ता मोहनीप्रशाद जोशीले उनीहरु विरुद्ध हत्याकाण्डको अनुसन्धानमा प्रमाण नष्ट गरेको र पक्राउ परेका अभियुक्तलाई यातना दिएको अभियोगसहित मुद्दा दर्ता गरिएको बताए ।

जोशीका अनुसार दिलिपसिंह विष्टलाई यातना दिएकोे अभियोगमा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख तथा वर्खास्तमा परेका एसपी डिल्लीराज विष्ट, सिबिआईका डिएसपी अंकुर जिसी, डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का विरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ ।

त्यस्तै घटना सम्बन्धी प्रमाण नष्ट गरेको अभियोगमा तत्कालिन एसपी डिल्लीराज विष्ट, डिएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी तथा प्रहरी निरीक्षकहरु एकेन्द्र खड्का तथा जगदीश प्रशाद भट्ट, सई हरिसिंह धामी, असई राम बहादुर धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध मुद्दा दर्ता गरिएको सहायक जिल्ला न्यायधिवक्ता जोशीले बताए ।

अदालतले अभियुक्तसँग बयान लिएर  धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार समेत पठाउन सक्ने उनको भनाई छ ।

जिल्ला अदालतमा छ जना अभियुक्त मात्रै हाजिर भएका थिए । सहायक जिल्ला न्यायधिवक्ता जोशीका अनुसार आठै जना अभियुक्तलाई अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिएको भए पनि तत्कालिन एसपी डिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी उपस्थित भएनन् ।

प्रहरीले उनीहरु सम्पर्कमा नआएको भन्दै जिल्ला अदालतमा हाजिर गराउन नसकेको जानकारी दिएको सहायक जिल्ला न्यायधिवक्ता जोशीको भनाई छ । ‘हामीले आठै जना अभियुक्तलाई मुद्दा दर्ताका लागि अदालतमा हाजिर गराउन जिल्ला प्रहरीलाई पत्र पठाएका थियौं तर तत्कालिन एसपी विष्ट र सिआईबिका डिएसपी जिसी हाजिर हुन मानेनन्, प्रहरीबाट उहाँहरु सम्पर्कमा नआएको  जानकारी प्राप्त भएको छ’ उनले भने ।

गत हप्ताबाट मात्रै कञ्चनपुर प्रहरीको नेतृत्व सम्हालेका एसपी दिनेश आचार्यले हात्यकाण्ड अझै रहस्यमय रहेको बताए । उनले केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरीले घटनाको अनुसन्धान गरिहेको बताए । ‘हत्याकाण्डको अनुसन्धानबारे भन्न मिल्ने तथ्य फेला परेको छैन्, अनुसन्धान जारी छ’ एसपी आचार्यले भने ।

भीमदत्त नगरपालिका २ की १३ वर्षीय बालिका निर्मला पन्तको गत साउनमा बलात्कारपछि हत्या गरिएको थियो । तर हत्याकाण्ड भएको सात महिना बितिसक्दा पनि अझै हत्यारा पक्राउ पर्ने सकेको छैन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *