Sajhamanch Archive

प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको अवसरमा शुभकामना प्रदान

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)को अवसरमा महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक,आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने सबैको स्मरण पनि गरेका छन् ।

परापूर्वकाल मै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पौराणिककालदेखि प्रचलित “यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता” भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको उल्लेख गरेका छन् । “तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुसीहुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कुरीति चुनौतिका रुपमा रहेकाले हामीले धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्न सक्नु पर्दछ” प्रधानमन्त्रीको शुभकामना मन्तब्यमा उल्लेख छ ।

“हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन्” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना मन्तब्यमा भनेका छन्, “अब हामीले विलम्व नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नु पर्दछ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *