Sajhamanch Archive

उद्योग केडियाको अपहरणमा संलग्न पासवान ३ वर्षपछि पक्राउ

Published: in समाज by .

पर्सा : वीरगन्जको प्रतिष्ठित उद्योगी घराना केडिया समूहका सदस्य सुरेश केडियाको अपहरणमा संलग्न भएका भारतीय नागरिक बल्लु पासवानलाई प्रहरीले नियन्त्रण गरेको छ। सीमावर्ती क्षेत्र पर्साको भिस्वा नजिकबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। उद्योगी केडियाको भएको ०७३ जेठ १३ गते बाराबाट भएको अपहरणमा दुवै देशका अपराधकर्ममा संलग्न व्यक्तिहरूको संलग्नता रहेको प्रमाणका आधारमा भारतीय नागरिक पावसान र अपहरणका समयमा सेतो स्कार्पियो चलाउने ड्राइभर विजय कुशवाहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू दुवै अहिले बारा, पर्साका प्रहरीको नियन्त्रणमा रहेको प्रहरी स्रोतले जनाएको छ। औद्योगिक घराना केडिया समूहका सदस्य केडियाको अपहरणमा बारा घर भएका नेविसंघका केन्द्रीय सदस्य वीरेन्द्र यादव र साविकको कवहीजब्दी ३ का चंचल पाण्डे नेपालतर्फका मुख्य योजनाकार रहेको भनी केडिया अपहरण परेको १३ दिनपछि अर्थात् ०७३ जेठ २६ गते उनीहरूसहित बाराका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो। भारत तर्फका भने बब्लु दुवे, बब्लु पासवानलगायत रहेको प्रहरीले पहिले नै आधार जुटाइ सकेको भए पनि फरार रहेका पावसानलाई बल्ल नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका पासवान भारतमा पनि विभिन्न अपराध कर्ममा संलग्न रही विगतमा अपराधकर्म गरी जेल जीवन बिताइरहेका बब्लु दुवे (अदालत लाने क्रममा गोलीबाट मारिएका) सँग सम्लग्न रहेको धेरै प्रमाणहरू प्रहरीले प्राप्त गरेको प्रहरीको भनाइ छ। तिनै पासवान बल्ल फेला परेको बारा प्रहरीले जनाएको छ। केडियालाई अज्ञात हतियारधारीहरूले बाराको बरियारपुरबाट घर फर्कने क्रममा पसाहा पुल नजिकै आइपुगेपछि सवारी चालक उमेश साह कानु (श्याम) लाई दाँया कन्चट मुनी गोली प्रहार गरी केडियाको अपहरण गरेको थियो। उद्योगका लागि चाहिने गहुँ खरिद गर्न बाराको बरियापुरतर्फ पहिलेदेखि जाने गरेका उद्योगी केडिया सो दिन पनि बरियारपुर गएर फर्कदै क्रममा अज्ञात हतियारधारीहरूबाट अपहरणमा परेका थिए। त्यहि घटनालाई प्रहरीले अनुसन्धान गर्दै जाँदा नेपाल र भारत दुवै तर्फका अपराधकर्ममा लागेका मानिसहरू पहिचान भएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *