Sajhamanch Archive

समृद्धिको यात्रा गर्न ठोस नीति, कार्यक्रम, योजना र आचरणको अभावः उपप्रधानमन्त्री पोखरेल

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by .

झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सहकारी अभियानमा एनएमसीको चर्चा बारम्बार हुने गरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले पनि यो संस्थाको कार्यक्रमप्रति विभिन्न स्थानमा प्रेरक चर्चा गर्ने गरेको उनको भनाई छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २६औं वार्षिकोत्सव समारोहमा आज आफ्नो मन्तब्य राख्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । आफ्नो मन्तब्यमा उनले भने, ‘‘एनएमसीले वित्तीय कारोबारमात्र नगरी बहुव्यवसायमार्फत् सदस्यको आवश्यकता पूरा गरेको पाउँदा प्रधानमन्त्री ओलीले सही सहकारी संस्थालाई उदाहरण बनाउनु भएको रहेछ भन्ने लागेको छ ।’’

अविच्छिन्न उत्तराधिकारवाला संस्थाको प्रारम्भका २५ वर्ष महत्वपूर्ण समय रहेको बताउँदै मन्त्री पोखरेलले संस्थाको समुन्नतिका लागि सञ्चालकहरुले वस्तुनिष्ठ समीक्षा गर्दै भावी कार्ययोजना एवम् रणनीति बनाउन आवश्यक रहेको सुझाए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले दुई तिहाईको वर्तमान सरकारले एक वर्षमा केही गर्नै सकेन भन्ने विरोधीहरुको आलोचनाबारे पनि आफ्ना धारणा राखेका छन् । उनले भने, ‘‘अहिले सरकारमात्र परिवर्तन भएको होइन, राजनीतिक प्रणालीमा परिवर्तन भएकाले राजनीतिक तथा संवैधानिक घोषणाहरु तत्काल पूरा हुन सकेका छैनन् ।’’

नेपालमा संविधानसहित ३३९ वटा ऐन कानून छन् । तीमध्ये १६५ वटा ऐनका मस्यौदा विधेयकका रुपमा संसदमा रहेकाले तिनीहरु पास भएपछिमात्र सरकारका काम कारवाहीले गति लिने मन्त्री पोखरेलको भनाई छ । उनले थपे, ‘‘टेकेर हिंड्ने खुट्टाहरु (ऐन तथा नियम) पूरा नभएकाले वर्तमान सरकार पूर्णरुपमा हिंड्न नसकिरहेको हो, जतिसक्दो छिटो ती ऐन कानूनहरु बनाउन हामी प्रयत्नशील छौं ।’’

मुलुकभर तीनै तहमा कम्युनिष्टको दुई तिहाईको सरकार बन्दा प्रतिपक्षीहरुलाई पचाउन गाह्रो भएर विभिन्न बहानामा आलोचना गरिहिंड्ने बानीपरेको मन्त्री पोखरेलको टिप्पणी छ । उनले वर्तमान सरकारले एक वर्षमा समृद्धि र विकासका आधारहरु तयार पारेकाले अब बाँकी अवधिमा साझा चुनावी घोषणापत्र र आर्थिक वर्ष २०७४/०७५ को सरकारको नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रमहरु पूरा गर्ने प्रतिवद्धता दोहोर्याए ।


मुलुकका सबै राजनीतिक दल तथा संघ–संस्थाहरुमा आर्थिक विकास र समृद्धि थेगो नै बसेको भए पनि यसलाई अघि बढाउन ठोस नीति, कार्यक्रम, योजना र आचरणको अभाव रहेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ । मुलुकको आर्थिक विकास र समृद्धि प्राप्तीका लागि वर्तमान सरकारले कृषि, पर्यटन, पूर्वाधार र उर्जालाई रोजेको उनले बताएका छन् ।

सो समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीले सदस्यको वित्तीय आवश्यकता मात्र पूरा गर्ने नभई सामाजिक, सांस्कृतिक, वातावरणीय क्षेत्रमा पनि यथेष्ट योगदान गर्न सक्ने क्षेत्र भएको औंल्याए । एनएमसीलाई नेपालकै नमूना संस्थाका रुपमा चित्रित गर्दै अध्यक्ष बडालले सो संस्थाले अघि सारेका कार्ययोजनाहरु पूरा गर्दै गएमा दीगो विकास लक्ष्य प्राप्तीका लागि सहयोगी सावित हुने सुझाव दिए ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मिना ढकाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य महेन्द्रकुमार गिरी, नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का सञ्चालक घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले मन्तब्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको समारोहमा आमन्त्रित पाहुना तथा सहभागीहरुलाई सञ्चालक सदस्य भगवति घिमिरे मैनालीले शब्द स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *