Sajhamanch Archive

बडाल र रेग्मी एनएमसीका वर्ष उत्कृष्ट ब्यक्तित्व

Published: in राष्ट्रिय समाचार, सहकारी by .

झापा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल झापामा अभिनन्दित भएका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले बडाललाई वर्ष उत्कृष्ट राष्ट्रिय सहकारी व्यक्तित्वका रुपमा नगद २५ हजार रुपैयाँसहित आज अभिनन्दन तथा सम्मान गरेको हो ।

यसैगरी झर्रो नेपाली भाषाका अभियन्ता, साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक चूडामणि रेग्मीलाई संस्थाले वर्ष उत्कृष्ट नागरिकका रुपमा अभिनन्दन गरेको छ । भाषासेवी रेग्मीलाई अभिनन्दन पत्रसहित नगद २५ हजार रुपैयाँले पुरस्कृत गरिएको हो ।

आफ्नो २६औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोहका बीच एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीसहित नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र सहकारी अभियन्ताहरुले दुवैजनालाई फूल, माला, अविर, टिका लगाइदिएर दोसल्ला तथा अभिनन्दन पत्र प्रदान गरिएको हो ।

यसरी नै संस्थाका ६० हजार शेयर सदस्यहरु मध्ये यो वर्ष बिर्तामोड नगरपालिका ३ सैनिकमोडका बैजु साहा वर्ष उत्कृष्ट सदस्यका रुपमा सम्मानित भएका छन् । गत आर्थिक वर्षमा साहाले संस्थासँग गरेको वित्तीय कारोबार उत्कृष्ट रहेको ठहर गर्दै उनकी श्रीमती शान्तिदेवी साहासमेतलाई एनएमसीले नगदसहित सम्मान गरेको हो ।

संस्थाले आफ्ना सदस्यहरुमध्ये वर्ष उत्कृष्ट कृषकका रुपमा मेचीनगर नगरपालिका वडा नं. ९ मागुरमाडीका डिल्ली उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । पत्नी दिक्षाको उत्प्रेरणाबाट डिल्लीले कृषि उद्यम गरेर आफ्नो जीवनमा रुपान्तरण गर्न सफल भएको निश्कर्षसहित एनएमसीले उप्रेती दम्पत्तीलाई सम्मान गरेको जनाइएको छ ।

उत्कृष्ट कारोबारी साहा दम्पत्ती तथा उत्कृष्ट कृषक उप्रेती दम्पत्तीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल र एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले नगद तथा सम्मानपत्र प्रदान गरेका हुन् ।

समारोहमा संस्थाको महिला विभागले आयोजना गरेको क्रिस्टलको माला बनाउने तालिमका सहजकर्ता देवीमाया पोखरेललाई प्रशंशापत्र प्रदान गरियो । यस्तै आज बिहान सम्पन्न महिला तथा पुरुष खुल्ला मिनी म्याराथनका विजयी खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

यो वर्ष एनएमसीका १५ वटा कार्यालयहरुमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा शरणामति कार्यालय प्रथम भएकाले कार्यालयगत समितिका संयोजकसहित समिति र कर्मचारीलाई प्रशंशापत्र प्रदान गरिएको छ ।

यसैगरी, अन्तर कार्यालय कर्मचारी हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने कर्पोरेट कार्यालय, दोस्रो हुने दूधे कार्यालय, तेस्रो हुने धुलाबारी कार्यालय र सान्त्वना हुने शनिश्चरे कार्यालयको टिमलाई नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।

वार्षिकोत्सव समारोह धुलाबारीस्थित इष्ट होराइजन माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *