Sajhamanch Archive

जलेश्वर धामको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने 

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

अर्जुनधारा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वर धामकोे दीर्घकालिन विकासका लागि गुरुयोजना बनाई प्रस्ताव आएमा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

धाम समितिले आज शनिबार आयोजना गरेको कार्यक्रममा उपप्रधान मन्त्री पोखरेलले सयौं वर्ष टिक्ने व्यवस्थित गुरुयोजना बनाउन आग्रह गरेका हुन् ।

राजनीतिक विचारले मान्छेलाई विभाजन गर्न सक्छ तर धामको विकासका लागि एकताबद्ध भई कार्यसमिति बनाउनु खुसीको कुरा भएको मन्त्री पोखरेलको भनाई छ । उनले धाम विकासको गुरुयोजना तयार गर्दा त्यसको मर्म, विज्ञता र जानकारी राख्ने व्यक्तिहरु सम्मिलित हुनुपर्ने सुझाव दिएका छन् । स्थानीय सरकार अर्जुनधारा नगरपालिकामार्फत् संघीय सरकारसम्म कोरीबाटी गरी शुद्ध गुरुयोजना ल्याए धाम समितिको विकास योजना पूरा हुने उनको सुझाब छ ।

धाम समितिका अध्यक्ष नवीन घट्टानीले उपप्रधान मन्त्री पोखरेलको सल्लाह, सुझावलाई प्रक्रियागत ढङ्गले अगाडि बढाउने बताए । उनले मोक्षेश्वर शिवलिङ्ग, ऋर्षीमुनि प्रकृतिको गुरुकुल, मन्दिर निर्माणसहित आयुर्वेद चिकित्सालय बनाउने भावी योजनासमेत पेश गरे ।

जलेश्वर धाममा मन्त्री पोखरेलाई स्वागत गर्न अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, धाम समितिका अध्यक्ष नवीन घट्टानी, नगरपालिकाका कर्मचारीहरु, वडाध्यक्षसहित स्थानीय बासिन्दा सहभागी भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *