Sajhamanch Archive

एकै मञ्चबाट विद्यालय, विद्यार्थी, शिक्षक र पत्रकार पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । झापाको शान्तिनगरमा स्थापित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले आज मेचीनगरको धुलाबारीमा विशेष कार्यक्रम आयोजना गरेर पवित्रा–भेषराज खतिवडा स्मृति पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले यसवर्षको उत्कृष्ट विद्यालयका रुपमा बुद्धशान्ति गाउँपालिका– ५ शान्तिनगरस्थित गढीगाउँ माध्यमिक विद्यालयलाई छनोट गरी नगद ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको हो ।

यसैगरी वर्ष उत्कृष्ट शिक्षकका रुपमा धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौंलागाई र उत्कृष्ट विषय शिक्षकका रुपमा गढीगाउँ माविका गणित शिक्षक रुद्रमणि खतिवडालाई जनही १० हजार रुपैयाँ पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको छ ।

प्रतिष्ठानले २०७५ सालको एसईई परीक्षमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई पनि नगद र प्रशंशापत्र प्रदान गरेको छ । यसरी पुरस्कृत हुनेमा शान्ति आदर्श माविबाट ३.५५ जिपिए प्राप्त गर्ने खेमराज लेप्चा र बालकल्याण माविबाट ३.३० जिपिएसहित उत्तीर्ण श्रद्धा बस्नेत रहेका छन् ।

यसैगरी, शान्ति आदर्श माविमा अध्ययन गर्ने लोपोन्मुख समुदायका अस्मिता लेप्चा र सन्तोष लेप्चालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

सोही कार्यक्रमका बीच कान्तिपुर दैनिकका उपसम्पादक आनन्द गौतमलाई ‘भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ताप्लेजुङ जिल्लालाई कर्मथलो बनाएर पत्रकारितामार्फत स्थानीय आवाजलाई मुखरित गर्दै आएका गौतमलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

सम्मान तथा पुरस्कार ग्रहण पछि गौतमले कहिल्यै नदेखेका र नछोएको मान्छेका नाममा स्थापित पुरस्कार आफूजस्तो दुर्गममा रहेर काम गर्ने पत्रकारले पाउँदा गौरवान्वित भएको बताए । निश्वार्थ भावनाले आफ्नो कर्ममा जुटिरहे सुगमका बासिन्दाले जस्तै दुर्गमकाले पनि अवसर पाउँदा रहेछन् भन्ने उदाहरण प्रस्तुत भएको उनको ठम्याई थियो ।

पत्रकार चन्द्र भण्डारी संयोजक रहेको प्रतिभा छनोट समितिको सिफारिसमा प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कृत विद्यालय एवम् प्रतिभाहरुको नाम समितिका संयोजक चन्द्र भण्डारीले घोषणा गरेका थिए ।

झापाको शान्तिनगरलाई कर्मथलो बनाएर शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका पवित्रा–भेषराज खतिवडाको स्मृतिमा उनका सन्ततीहरुले स्मृति प्रतिष्ठान स्थापना गरी विगत ६ वर्षदेखि शैक्षिक उन्नयनमा लाग्न प्रेरणास्वरुप वर्ष उत्कृष्ट सामुदायिक विद्यालय, वर्षोत्कृष्ट शिक्षक, विषय शिक्षक तथा लोपोन्मुख समुदायका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानका सचिव शिरो सान्दाइले बताएका छन् ।

प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पुरस्कृतहरुका तर्फबाट पत्रकार आनन्द गौतम, नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *