Sajhamanch Archive

झापा गोल्डकपः आर्मी र झापा ११ को पुनः भेट पक्का

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपालकै प्रतिष्ठित एवम् ठूलो रकमको पुरस्कार राशि भएको झापा गोल्डकप २०७५को जारी प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमी फाइनल खेलमा आर्मी क्लबले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा झापा ११ सँगको भेट पक्का गरेको हो ।

आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाति गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो । भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका सिलो नाङगाले चेष्ट गर्न खोज्दा बलले जाली चुमेको थियो । खेलको २३औं मिनेटको त्यही आत्मघाती गोलको मद्धतले आर्मी फाइनलमा प्रवेश गरेको हो ।

खेल अवधिभर दाउफिन्सले एक दर्जन बढी पावरफूल प्रहार गरेको भएपनि गोल हुन नसक्दा उसको यात्रा सेमीफाइनलमा टुङिगएको छ । पहिलो हाफमा खासै मुभ बनाउन नसकेको दाउफिन्सले दोस्रो हाफमा केही सशक्त प्रहार गरेको थियो ।

खेलको ४५औं मिनेटमा दाउफिन्सका अहन्दा इशाको पावरफुल प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्यालेका थिए ।

५२औ मिनेटमा टीना टीनाको प्रहार गोलरक्षक कुथुले फिर्ता गरिदिएपछि दाउफिन्सले गोल गर्ने अवसरबाट बञ्चित भएको थियो ।

५७औं मिनेटमा दाउफिन्सका पेटाङगाले खाली पोष्टमा गोल गर्न सकेनन् । ६३औं मिनेटमा पेटाङगाको पावरफुल प्रहार कुथुले बचाउ गरे । आर्मीका टेकबहादुर बुढाथोकीले खेलको ३१औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार बाहिरियो ।

जितसँगै झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले तेस्रो पटक फाइनल खेल्ने भएको छ । आर्मीले पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो ।

आर्मीले फाइनल जितेका सबै खेल झापासँगको भेटमा हो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेको छैन । खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका बिमल पाण्डे भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए ।

बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले प्रदान गर्दै आएको २८ इन्चको एलइडी टेलिभिजन बिर्तामोडका भरत गुरागाँईले पाएका छन् । टिकट काटेर खेल हेर्न आएका दर्शकमध्ये लक्की ड्रबाट उनले टेलिभिजन हात पारेका हुन् ।

जितपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो टीमका धेरै खेलाडी घाइते भएको हुनाले अपेक्षित प्रदर्शन हुन नसकेको बताए । आर्मीका लागि एक गोलको स्कोर भइसकेपछि रक्षात्मक खेल खेलेको हुनाले थप गोल गर्नतर्फ नलागेको उनले बताए ।

दाउफिन्सका मेनेजर आशिक थापा मगरले उत्कृष्ठ प्रदर्शनका बावजुत पनि स्कोर हुन नसकेको बताए । खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसकेका कारण खेलबाट बाहिरिनु परेको थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *