Sajhamanch Archive

विद्यार्थीको रहस्यमय मृत्यु, ब्रिटिस कलेजद्वारा अभिभावकमाथि दुर्व्यहार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं। सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने बताएका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताए ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते दुबई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित द ब्रिटिस कलेजका एक जना शिक्षकले सुनाएको बताए ।

उनले भने– ‘मेरो छोरा कलेजको टुरमा दुबई गएको थियो । तर, दुबईमै निधन भएको दुःखद खबर कलेजका एक जना शिक्षकले फोन गरेर सुनाउनुभएको हो ।’ छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरुले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरुबाट ठूलो गल्ती भएको भनेर स्वीकार गरेको स्पष्ट पारे ।

दुबईमा आफ्नो छोरा हराएको ८ घण्टापछि मात्रै कलेजबाट भ्रमणमा सहभागी सदस्यहरुले खोजी गर्नु नै रहस्यमय भएको बताउँदै उनले थपे– ‘मेरो छोरा हराएको घण्टौंपछि मात्रै खोजी भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो । घटना घटेको अन्दाजी ८ घण्टापछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ ।’
आफूले छोराको शव नबुझ्दासम्म कलेजले निकै चासो देखाएको तर दाहसंस्कार गरिसकेपछि कुनै वास्ता नगरेको दुःखेसो पोख्दै श्रेष्ठले भने– ‘वास्ता त गरेन गरेन, उल्टै ममाथि अभद्र व्यवहार गर्यो । अपशब्द बोल्यो ।’ नेपाल समाचारपत्र बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *