Sajhamanch Archive

बिर्तामोड १ को विभूतिमार्ग कालोपत्रे गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ सूर्यनगर टोलको विभूतिमार्गमा ढलसहित कालोपत्रे गर्ने कार्यको आज शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ५ र बिर्तामोड नगरपालिका वडा नं. १ को सिमानाबाट ८०० मिटर सडक कालोपत्रे गरिने भएको हो ।

अधिवक्ता तेजप्रसाद कट्टेलको संयोजकत्वमा गठित ९ सदस्यीय उपभोक्ता समितिले आज विशेष कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभाका सदस्य पवित्रा निरौला निरौला खरेल र प्रदेश सभाका सदस्य एकराज कार्कीमार्फत् निर्माण कार्यको शिलान्यास गराएका हुन् ।

बिर्तामोड नगरपालिका वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार ३२ फिट चौडाईको उक्त सडकको दुवैतर्फ प्लम हालेर ढल निर्माण गरिनेछ भने ८०० मिटर कालोपत्रे गरिनेछ । सो सडकको स्तरोन्नतिले शाखा बाटोहरु पनि प्रयोगमा आउने उनको भनाई छ ।

प्रदेश सरकारबाट ५० लाख रुपैयाँ, नगरपालिकाबाट २५ लाख रुपैयाँ, संघीय सरकारबाट १० लाख रुपैयाँ र जनसहभागिताबाट ७ लाख रुपैयाँ गरी ९२ लाख रुपैयाँको लागतबाट सो सडक निर्माण गर्न लागिएको वडाध्यक्ष पाण्डेले जनाए । आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी अमानतमा काम गरिएको उपभोक्ता समितिका संयोजक कट्टेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *