Sajhamanch Archive

हावा र सूर्यबाट बिजुली बालेपछि मिक्लाजुङ गाउँ झलमल्ल

Published: in राष्ट्रिय समाचार, समाज, by .

पाँचथर । अहिलेसम्म बिजुली बत्ती बाल्न त के गाउँलेहरुले बिजुलीको तारसम्म नदेखेको क्षेत्रमा ७० किलोवाटको हावा र सौर्य उर्जा उत्पादन गरिएको छ । सोपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका २ को मुहार पनि फेरिएको छ ।

सौर्य उर्जाबाट बिजुली बलेपछि सप्तमी बजारका ११० घर परिवारको दिनचर्या बेग्लै हुनपुगेको देख्न पाइन्छ । साँझमा झिलीमिली बत्ती बालेर यहाँका बासिन्दा हिजोआज बेग्लै मज्जा लिइरहेका छन् ।

एशियाली विकास बैंकको चार करेड ५० लाख रुपैयाँ लगानीमा मिक्लाजुङ गाउँपालिक वडा नं. २ सप्तमी बजारमा हावा र सौर्यबाट उर्जाशक्ति उत्पादन गरिएको हो ।

वैकल्पिक उर्जा प्राधिकरण ललितपुरको प्रविधिक सहयोग र एडिबीको आर्थिक लगानीमा हावाबाट २० किलोवाट र सूर्यबाट ५० किलोवाट गरी ७० किलोवाट उर्जा उत्पादन भएको छ । सो उर्जा सिङ्गो गाउँका बासिन्दाले उपभोग गर्ने गरी सप्तमी बजारमा वितरण गरिएको हो ।

३२० वाट क्षमताको १५२ वटा सोलार प्यानल सप्तमी बजारको डाँडामा राखेर छुट्टै दुईवटा पङ्खा बनाई मिश्रित प्रणालीमा जडान गरी उर्जा उत्पादन गरिएको हो । योभन्दा पहिले सप्तमी बजारका बासिन्दाले सोलार प्यानलबाट उर्जा उत्पादन गरी गर्जो चलाइरहेका थिए ।

५ वर्ष अगाडि टेण्डर प्रक्रियामार्फत् निर्माण सुरु गरेर हाल हावाको मापन गरी परीक्षण उत्पादन सुरु गरिएको हो । यसअघि सप्तमी बजारका केही बासिन्दाका घरमात्र विजुलीको उज्यालोको पहुँचमा थिए । जो भारतीय सेनामा काम गर्थे उनीहरुलाई नेपाल भारत मैत्री संघले सहुलियतमा ७५ वाटको सोलार प्यानल प्रदान गरेको थियो, स्थानीयले सोही उर्जा उपभोग गरिरहेका थिए ।

तर सिमित घरपरिवार बााहेक अन्य बासिन्दा टुकी बालेरै जीवन चलाइरहेका थिए । आज पूरै गाउँ झलमल्ल हुने गरी सौर्य र हावाबाट उर्जा उत्पादन गरी गाउँभरि जडान भएपछि स्थानीय हर्षित भएका छन् ।

अहिले २४ सै घण्टा सौर्यउर्जा प्राप्त भइरहेकाले कुनै प्रकारको समस्या नआएको स्थानीय विरेन्द्र शेर्पाको भनाई छ । ‘मेसिनरी काम बाहेक अन्य सबै काम परीक्षण पछि गर्न थलिएको छ, हाल एक घर बराबर १३२० वाट सौर्यउर्जा वितरण गरिएको उपभोत्ता समितिका अध्यक्ष गंगा आङ्देम्बेको भनाई छ ।

एक महिना अघिबाट उत्पादन भएको सौर्य उर्जाबाट हाल मिक्लाजुङ वडा न २ का सबै घरमा वायरिङको काम सकिएर बत्ती बलिरहेका र कुनै पनि प्राविधिक कठिनाई नआएको अध्यक्ष आङदेवेको भनाई छ ।

मिक्लाजुङ २ सप्तमी बजार यतिखेर सौर्यउर्जा र हावाबाट उर्जा उत्पादन गरेको अवलोकन गर्ने गन्तव्य बनेको छ । यहाँका विभिन्न संस्था, विद्यार्थी तथा प्राविधिक कार्य गर्ने मानिसलाई टेवा पुगेको स्थानीयबासीको प्रतिक्रिया छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *