Sajhamanch Archive

चिरप्रतिद्वन्द्वी झापा ११ र त्रिभुवन आर्मीको झापा गोल्ड कप उचाल्ने दाबी

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

झापा । चौथो संस्करणको झापा गोल्डकपमा फाइनल यात्रा तय गरेका झापा ११ र त्रिभुवन आर्मी क्लब दुवै टिमका प्रशिक्षक र क्याप्टेनले उपाधि उचाल्न आफुहरु आतुर रहेको दाबी गरेका छन् ।

भोलि सोमबार उपाधिका लागि आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लब डोमालाल राजवंशी रंगशालामा भिड्न लागेका छन् । झापा गोल्डकपको चारवटा संस्करणमध्ये दुईवटा संस्करणको फाइनलमा झापा ११ र त्रिभुवन आर्मी क्लब भिडिसकेका छन् । झापा गोल्डकपको फाइनलमा झापा ११ र आर्मीको यो तेस्रो भेट हो ।

आर्मीले झापा ११ लाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ पटक पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेको छैन ।

आइतबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षकहरुले उपाधिको लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

आयोजक झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले यसपटक जसरी पनि उपाधि जित्नैपर्ने मानसिक दबावमा रहेको बताए । ‘यो पटक हाम्रो टिम स्ट्रोङ छ’ उनले भने, ‘यस पटक अघिल्ला वर्षहरुको खेलको पनि समीक्षा गरेका छौँ, हामी यो पटक उपाधि जित्न लागि परेका छौँ ।’

झापा ११ का कप्तान कर्ण लिम्बूले पनि यो पटक उपाधि उचाल्न आफूहरु मन र जोसले खेल्ने बताए । यो पटक उपाधि रक्षा गर्न फरक रणनीतिका साथ तयार रहेको उनको भनाई छ ।

यस्तै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो सेटका केही खेलाडी नभएकाले खेलमा केही असर गरे पनि टिम उपाधि जित्न सक्षम रहेको जिकिर गरे गरे ।

आर्मीका क्याप्टेन भरत खवासले झापा ११ राम्रो टिम रहेकाले उपाधिको लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने बताए । ‘झापा राम्रो टिम छ, उसको घरेलु मैदानमा फाइनल खेल्न हामीलाई त्यति सहज छैन’ उनले भने, ‘जित्ने चान्स् ५०–५० छ, पाएको अवसर सदुपयोग ग¥यौँ भने हामी जित्छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *