Sajhamanch Archive

प्रदेश १ को भाषा साहित्य कार्यदल सुझाव संकलन गर्दै

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, शिक्षा by .

बिर्तामोड । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवम् विकासका लागि के कस्ता प्रयासहरु आवश्यक छन् भनी आज झापाको बिर्तामोडमा सुझाव संकलन गरिएको छ ।

प्रदेश १ मा गठित भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी कार्यदलले झापाका साहित्य, कला, संस्कृति लगायत क्षेत्रमा क्रियाशिल अग्रज तथा युवाको सहभागितामा सुझाव संकलन गरिएको हो ।

कार्यदलका संयोजक प्राध्यापक डाक्टर टंकमणि न्यौपानेको अध्यक्षता तथा भाषाविद् चूडामणि रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न सुझाव संकलन कार्यक्रममा विभिन्न ४ वटा समूह बनाएर छलफल गरिएको थियो ।

समूहमा बाँडिएका सहभागीहरुले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि अब बनाइने कानूनमा समेट्नु पर्ने विषयवस्तु सुझाएका छन् । प्रदेशका भाषा, कला र साहित्यको उन्नयनका लागि बनाउनु पर्ने नीति र ऐनमा समेट्नुपर्ने विषयवस्तुसहित संस्थाको नाम, सदस्य संख्या चयनको प्रक्रियाका बारेमा प्रष्ट हुनुपर्ने सुझाब दिइएको छ ।

यसैगरी संस्कृति तथा सांस्कृतिक सम्पदाको सर्भेक्षण र प्राथमिकता, मानक भाषाको पहिचान, स्रष्टा सम्मानको मापदण्ड, लोपोन्मुख भाषा तथा संस्कृति संवद्र्धनका लागि खेल्नुपर्ने भूमिका लगायतका विषयमा सम्बन्धित समूहले सुझाव प्रस्तुत गरेका छन् ।

यस्ता सुझाव संकलन कार्यक्रममार्फत् पेस गरिएका सुझावहरु प्रतिवेदनका रुपमा समेटेर प्रदेश सरकारलाई बुझाउने कार्यदल संयोजक न्यौपानेले प्रतिवद्धता जनाएका छन् । कार्यक्रमका प्रमुख अतिथि रेग्मीले क्षेत्रवादले मुलुकलाई सखाप पारेको भन्दै प्रज्ञा प्रतिष्ठानमा क्षेत्रवाद लागू नगर्न सुझाव दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *