Sajhamanch Archive

लगानीकर्ताले चरणबद्ध आन्दोलन गर्ने घोषणा, अर्थमन्त्रीको बर्खास्ती मुख्य माग

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पुँजी बजार सेयर लगानीकर्ताहरुको एउटा समूहले चरणबद्ध आन्दोलनका कार्यक्रमहरुको सार्वजनिक गरेको छ ।

पुँजी बजार सुधारका लागि आफूले यसअघि उठाएका मागहरु पुरा गर्न सरकार तयार नभएको भन्दै सेयर बजार लगानीकर्ता दबाव समूहले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसन सम्म बसेको लगानी कर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । समूहका महासचिव नयन बास्तोलाले अर्थमन्त्री डा। युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बखास्तीको माग अघि सारेको बताए ।

यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की लगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो ।

आफ्ना माग पूरा नभई आमरण अनसन तोड्न बाध्य भएको समूहले त्यसबेला आफ्ना आंशिक मागहरु पूरा भएको दाबी गर्दै आएको छ । यसपटक भने समूहले गभर्नर, बोर्डका अध्यक्ष लगायतको राजीनामा मागलाई भने अघि सारेको छैन ।

चरणबद्ध आन्दोलनको पहिलो दिन चैत ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्री खतिवडालाई बर्खास्तीको मागसहित ज्ञापनपत्र बुझाउने महासचिव बास्तोलाले बताए ।

९ गतेदेखि शुरु हुने आन्दोलन १६ गतेसम्म निरन्तर चल्नेछ । १६ गते प्रधानमन्त्री तथा अर्थमन्त्रीको सार्वजनिक कार्यक्रमहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको बास्तोलाले बताए ।

यस्तो छ आन्दोलनको कार्यतालिका

चैत्र ९ गते अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने

चैत्र १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ

चैत्र ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ

चैत्र १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने

चैत्र १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने

चैत्र १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पुँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने

चैत्र १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने

चैत्र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *