Sajhamanch Archive

बाल यौन दुराचारको अभियोगमा अष्ट्रेलियामा चर्चका धर्मगुरु जेल सजाय

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, विविधा, समाज by .

अष्ट्रेलिया । क्याथोलिक चर्चका धर्मगुरु तथा भ्याटिकनका पूर्व ट्रेजरर कार्डिनल जर्ज पेललाई अष्ट्रेलियाको एउटा अदालतले बाल यौन दुराचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यको काउन्टी अदालतले कार्डिनल पेललाई सन् १९९० को दशकमा मेलबर्न शहरमा दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको हो ।

क्याथोलिक इसाई धर्मका सबैभन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसका पूर्व सल्लाहकारसमेत रहेको कार्डिनल पेल बाल यौन दुराचार अभियोगमा जेल सजाय पाउने सबैभन्दा वरिष्ठतम क्याथोलिक धर्मगुरु हुन् ।

अदालतमा कुनै धार्मिक पोसाक बिना उपस्थित कार्डिनल पेललाई सजाय सुनाउँदा उनले कुनै भावनात्मक प्रतिक्रिया नदेखाएको अष्ट्रेलियाका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनले आफू निर्दोष रहेको बताउँदै आएका छन् । आफू निर्दोष रहेको भन्दै उनले उपल्लो अदालतमा पुनरावेदनसमेत दिएको बताइएको छ । उनको पुनरावेदनमा आगामी जुन महिनामा सुनवाई हुने समाचारहरुमा जनाइएको छ ।

पेल आर्चविशप रहेको मेलबर्नको सेन्ट प्याट्रिक चर्चमा सन् १९९६ र १९९७ मा उनले दुई जना १३ वर्षीय बालकहरुमाथि यौन दुर्व्यवहार गरेको अदालतले ठहर गरेको थियो ।

तीमध्ये एक पीडितको सन् २०१४ मा निधन भएको थियो । अर्का पीडितले अभियोजनकर्तासमक्ष कार्डिनल पेलविरुद्ध बयान दिएका थिए । अष्ट्रेलियाको कानूनअनुसार पीडितको पहिचान भने सार्वजनिक गरिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *