Sajhamanch Archive

अवैध काठसहित पिकअप र मोटरसाइकल प्रहरी नियन्त्रणमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बुद्धशान्ति । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सीमानामा पर्ने बिरिङ खोलाबाट गएराति इलाका प्रहरी कार्यालय बुधबारेको गस्ती टोलीले करिब २९ दशमलव ९२ क्यूविक फिट सखुवा जातको गोलिया काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरीक्षक कृष्ण हुमागाईको नेतृत्वमा गएको गस्ती टोलीले राति १२ बजेतिर उक्त गोलिया काठसहित प्रयोगमा रहेको बा १३ च ५९७८ नम्बरको पिकअप र मे २ प ६२७१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको काठ अवैधरुपमा चोरी–कटानी गरी लैजाँदै गरेको प्रहरीको भनाई छ । प्रहरीले नियन्त्रणमा लिएको गोलियासहित पिकअप र मोटरसाइकल जिल्ला वन कार्यालय झापाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले पनि पुष्टि गरेका छन् ।

काठ तस्करीमा संग्लन व्यक्ति भने फरार रहेका र उनीहरुको खोजी कार्य चलिरहेको प्रहरीले बताएको छ । पछिल्लो समय बिरिङ खोला क्षेत्रबाट अवैध काठ तस्करीको मात्रा दिनहुँ बढिरहेको प्रहरीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *