Sajhamanch Archive

झापामा उपभोक्ता हित संरक्षणका लागि ७ बुँदे साझा प्रतिवद्धता

Published: in राष्ट्रिय समाचार, समाज by .

स्थानीय पाठ्यक्रममा उपभोक्ता अधिकार तथा सचेतनाका विषय समेट्न पहल गर्ने

बिर्तामोड । उपभोक्ता हित संरक्षणका लागि स्थानीय सरकार तथा झापाका सरोकारवालाहरुले ७ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा जिल्ला समन्वय समिति झापाद्वारा आज शुक्रबार बिर्तामोडमा आयोजित ‘उपभोक्ता अधिकारः बजार तथा भौतिक पूर्वाधार अनुगमन, चुनौति र समस्या समाधानका उपाय’ विषयक कार्यशालामा सरोकारवालाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यशालामा स्थानीय सरकार स्थानीय सरकारका प्रतिनिधिहरुले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संविधान प्रदत्त मौलिक अधिकारलाई कार्यान्वयन गर्न गराउन दायित्व बोध समेत गरेका छन् ।

उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न उपभोग्य वस्तुको सेवाको गुणस्तर, परिमाण एवम् मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्नुपर्नेमा सबैको जोड थियो ।

जिल्ला समन्वय समिति झापा तथाल स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्ष, विषयगत कार्यालयका विज्ञ, उपभोक्तावादी संस्था, स्थानीय तहका अधिकृत तथा प्रतिनिधि, उद्योग तथा वाणिज्य संघ एवम् अन्य सरोकारवालाले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

सबै स्थानीय तहमा आवश्यक नीति, निर्देशिका जारी गरेर उपभोक्ता हित संरक्षण समिति गठन गरी तत्काल काम कार्वाही अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।

झापाका १५ स्थानीय तहमध्ये अहिले ८ वटामा मात्रै निर्देशिका बनाएर अनुगमन कार्य शुरु भएको छ । बाँकी स्थानीय तहमा समेत तत्काल निर्देशिका जारी गरी समिति गठन गरेर काम अघि बढाइने सो अवसरमा प्रतिबद्धता जनाइयो ।

त्यस्तै उपभोक्ता हित संरक्षण समितिको नियमित बैठक, नियमित बजार तथा भौतिक पूर्वाधार अनुगमन तथा कारवाहीका माध्यमबाट उपभोक्ताको हित संरक्षण गर्न अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्थानीय तह, विषयगत कार्यालय, उपभोक्तावादी संस्था, उद्योग वाणिज्य संघलगायत सबै सरोकारवालाहरुसँग नियमित समन्वय गर्ने तथा उपभोक्ता अधिकार रक्षाका लागि सबै सरोकारवालाहरुसँग समन्वय गरी सचेतना अभियान सञ्चालन गर्ने समेत प्रतिबद्धतामा उल्लेख छ ।

झापामा खाद्यवस्तु भित्रिने काँकरभिट्टा र भद्रपुर नाकामा दक्ष जनशक्तिसहितको विषादि परीक्षण प्रयोगशाला स्थापनाका लागि पहल गर्ने तथा बिर्तामोडमा रहेको विषादि परीक्षण प्रयोगशालालाई अधिकतम् उपयोगमा ल्याउने, विद्यालयका स्थानीय पाठ्यक्रममा उपभोक्ता अधिकार तथा सचेतनाका विषय समेट्न पहल गर्नेसमेत प्रतिबद्धता जनाइएको छ ।

जिल्ला समन्वय समिति झापाको गुणस्तर मापन केन्द्रमा पूर्वाधार विकास सम्वन्धी सामग्रीहरुको गुणस्तर मापन गराउने र जिल्ला समन्वय समिति झापाबाट अनुगमनका क्रममा दिइएका निर्देशनहरु पालना गर्ने समेत प्रतिबद्धतामा उल्लेख छ ।

जिससका प्रमुख पोर्तेलले दिप प्रज्ज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा धन्यवाद ज्ञापनसहित जिसस उपप्रमुख मिना पराजुली घिमिरेले समापनको घोषणा गरेकी थिइन् ।

प्रमुख पोर्तेलले भौतिक पूर्वाधार अनुगमनबारे भद्रपुर नगरपालिकाका उपप्रमुख अधिवक्ता चन्द्रामाया श्रेष्ठले स्थानीय तहले बजार अनुगमनमा भोगेका समस्या, समधानका उपाय र उपलब्धि बारे प्रस्तुति गरेकी थिइन् ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंले साझा प्रतिबद्धता वाचन गरेकी थिइन् । कार्यशालाको सहजीकरणसहित स्वागत अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

स्थानीय पालिकाका उपप्रमुख तथा उपाध्यक्ष लगायत सरोकारवालाको जिज्ञासाको जवाफ विषयगत कार्यालयका विज्ञहरुले गरेका थिए ।

स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले आफ्ना जिज्ञासा र सुझावसहित प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । जिल्ला समन्वय समितिका सदस्यहरु चन्द्र सुब्बा, जुनु महरा, गंगादेवी कार्की, उपभोक्तावादी संस्थाकातर्फबाट राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, उपभोक्ता हित संरक्षण मञ्चकि अध्यक्ष मञ्जु सिटौला, कञ्जुमर आई नेपालका उपाध्यक्ष राजु न्यौपाने र विश्व उपभोक्ता महासंघकी जिल्ला अध्यक्ष सरस्वती चम्लागाईले पनि आफ्ना जिज्ञासा र सुझावसहित प्रतिबद्धता जनाएका छन् ।

उपभोक्ता अधिकारका क्षेत्रमा धेरै कुरा हुने गरे पनि विश्व उपभोक्ता अधिकार दिवस स्थानीय सरकारसहित सवै सरोकारवालालाई एकै ठाउँमा राखेर मनाउदै उपभोक्ता हितका लागि प्रभावकारी काम गरेको भन्दै सहभागीले जिसस र संवाद समूहको प्रशंसा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *