Sajhamanch Archive

विप्लवको समूह ‘झुण्ड’ हो, सरकारले चिन्दैन ; प्रधानमन्त्री

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत ‘झुण्ड’ भएको टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको आरोप लगाए।

उनले भने, ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले विप्लव समूह राजनीतिक दल नभएको बताउँदै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध लगाइएको जानकारी गराएका छन् ।

विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन उनले नेताहरुलाई आग्रह समेत गरे ।

‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैंलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कहीं दर्ता भएको थियो र ? दर्ता छैन ।

नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो’।

उनले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले संविधान विपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने स्पष्ट पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *