Sajhamanch Archive

चैत ९–१० गते अलैंची व्यवसायीले चिसो हिले तताउने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । नेपाल अलैंची व्यवसायी महासंघको छैटौँ साधारणसभा तथा तेस्रो महाधिवेशन यही चैत ९ र १० गते धनकुटाको हिलेमा आयोजना गरिने भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा उद्घाटन गरिने महाधिवेशनमा केन्द्र तथा जिल्लाका २०० जनाभन्दा बढी अलैंची व्यवसायीहरुको सहभागिता रहने छ । महाधिवेशनको तयारी बारे जानकारी गराउन आज बिर्तामोडमा आयाजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो अवसरमा वर्षभरि उत्कृष्ट काम गर्ने जिल्ला शाखा समिति, उत्कृष्ट एक कृषक र उत्कृष्ट एक व्यवसायीलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।

महाधिवेशनमा अलैंचीको खेती विस्तारका लागि आवश्यक विरुवा, प्राविधिक सहयोग आदिका विषयमा राज्यको ध्यानाकर्षण गराउँदै विश्व बजारमा नेपाली अलैंचीको सहज पहुँचलाई व्यवस्थित गराउने लगायतका विषयमा छलफल गरिने अध्यक्ष निर्मल भट्टराईले अवगत गराए ।

अध्यक्ष भट्टराईले केही वर्षयता अलैंचीको मूल्यमा आएको निरन्तर र ठूलो अंक गिरावटले व्यवसायी तथा कृषक मर्माहत भएको जनाउँदै निर्यात प्रवद्र्धनका लागि सरकारी पहल आवश्यक र अनिवार्य भएको प्रष्ट पारेका छन् । नेपाली अलैंचीको ठूलो हिस्सा निर्यात हुने भारत र भुटानमा प्रशस्त अलैंची उत्पादन हुन थालेकोले यहाँको उत्पादनले ती देशमा बजार पाउन नसकेको महासंघको ठहर छ ।

नेपाली अलैंची निर्यातमा भारतकै बजारमा मात्र भर पर्नु परेको कारण समुचित मूल्य पाउन नसकेको बताउँदै अध्यक्ष भट्टराईले तेस्रो देशका बजारमा नेपाली अलैंचीको माग रहे पनि सोझै ती बजारमा पुर्याउन नसकिइरहेको प्रष्ट पारे । सो कार्यका लागि सरकारले पहलकदमी लिई नेपाली अलैंचीको अन्तर्राष्ट्रिय ट्रेडमार्क प्रक्रियालाई अघि बढाएर ट्रेडमार्कमार्फत विश्वका अन्य बजारमा पुर्याउन भूमिका खेलिदिन आग्रह गर्ने पनि जनाइएको छ ।

नेपालका किसानले गत वर्ष ५ हजार मेट्रिक टन अलैंची उत्पादन गरेकोमा मूल्य बढी पो हाल्छ कि भनेर ५० प्रतिशत हाराहारी अझै स्टकमा रहेको बताइएको छ । वर्तमान कार्यसमितिको कार्यकालमा अलैंचीको अन्तर्राष्ट्रिय बजार खोज्ने, नेपाली अलैंचीको गुणस्तरीयता चखाउने सन्दर्भमा उल्लेखनीय काम गरेको अध्यक्षले दावी गरेका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघ २०६४ सालमा स्थापना भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यता प्राप्त गरेको सो संस्थाको महासंघमा केन्द्र र जिल्ला तहमा गरी १५०० सदस्य आवद्ध छन् । हालसम्म महासंघका अलैंची उत्पादन र कारोबार हुने १५ वटा जिल्लामा शाखा समिति गठन भएका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघले अलैंचीको उत्पादन, गुणस्तर र बजारीकरणको क्षेत्रमा आफ्ना गतिविधि संचालन गर्दै आएको पत्रकार सम्मेलनमा बताइएको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको महासंघ देशभरिका वस्तुगत संघमध्ये गतवर्ष नेपाल उद्योग वाणिज्य महासंघको मूल्याकंनका आधारमा प्रधानमन्त्रीबाट पुरस्कृत भएको संस्था हो ।

यसैबीच, महासंघको नयाँ नेतृत्वका लागि व्यवसायी र किसानहरु आन्तरिक कसरतमा जुटेको पाइएको छ । एक साता पछिका लागि निर्धारित महाधिवेशनको मिति नजिकिँदै जाँदा अध्यक्षमा तीनभन्दा बढीले दावेदारी प्रस्तुत गरेको थाहा भएको छ । अध्यक्षसहितका दुई दर्जन पदका लागि हुने निर्वाचनका कारण चिसो ठाउँ धनकुटाको हिले तात्तिने भएको छ । स्रोतका अनुसार अध्यक्षको प्रतिष्पर्धामा ओमकृष्ण बिमली, राजकुमार कार्की र दिनेश मित्तल रहेका छन् । यसैगरी महासचिवमा सुवास भट्टराईले अग्रसरता देखाएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *