Sajhamanch Archive

‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो’ : मुख्यमन्त्री राई

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by .

धनकुटा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समग्र देशको विकास र आर्थिक समृद्धिमा अलैंचीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मुख्यमन्त्री राईले चाँडै अलैंची बोर्ड गठन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

धनकुटाको पर्यटकीय नगरी हिलेमा शनिबार शुरु भएको नेपाल अलैंची व्यवसायी महासंघको छैठौं साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले धेरै कुराले प्रदेश १ पहिलो नम्बरमा रहेको दावी गर्दै अलैंची उत्पादन र निर्यात व्यवसायमा पनि आफ्नो प्रदेश पहिलो नै रहेको बताए ।

अलैंचीलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री राईले अलैंची खेती विस्तार, निर्यात व्यापार प्रवद्र्धन, रोग निदानका उपायहरुका बारे प्रदेश सरकारले कार्य गर्ने बताए । अलैंचीमा लाग्दै आएको कर राजश्वमा पुनरावलोकन गर्ने, नेपाली ब्राण्डमा अलैंची तेस्रो मुलुक निर्यातका लागि खेल्नुपर्ने भूमिका प्रदेश सरकारले खेल्ने मुख्यमन्त्रीले प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले नेपाल तीन तहको नयाँ संरचनात्मक राज्य प्रणालीमा पहिलोपटक प्रवेश गरेकोले केही अलमल रहेको बताउँदै तर यो अलमल धेरै समय नरहने प्रष्ट पारे । ‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो, यसमा दुईमत छैन’, उनले भने– ‘आशा गर्ने थुप्रै ठाउँ छन् ।’

साधारणसभा उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले प्रदेश १ को भूमि कृषि र पर्यटनको प्रचुर सम्भावना भएको बताए । सार्कस्तरीय उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालले कृषि तथा व्यवसाय क्षेत्रका समस्या पहिचान भइसकेकाले समाधानका उपाय खोज्न सबै क्षेत्र एकताबद्ध हुनुपर्ने उल्लेख गरे ।

महासंघका कोषाध्यक्ष सुवास भट्टराईको सञ्चालनमा वरिष्ठ उपाध्यक्ष दिपक नेपालले स्वागत गरेको उद्घाटन समारोमा महासंघका अध्यक्ष निर्मल भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गरे । सभामा महासचिव ओमकृष्ण विमलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

सम्मान र पुरस्कार प्रदान

समारोहमा अलैंची खेती तथा व्यवसाय प्रर्वद्धनमा योगदान पुर्याउने व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानलाई सम्मान गरिएको छ । महासंघले अग्रज व्यवसायी, महासंघका संस्थापक अध्यक्ष एवम् संरक्षक राजेन्द्रकुमार घिमिरेलाई विशेष सम्मान गर्यो ।

महासंघले उत्कृष्ट कृषकका रुपमा लम्जुङका कृषक मानबहादुर तामाङ, उत्कृष्ट व्यावसायिक प्रतिष्ठान बिर्तामोडको गायत्री स्पाइसेसलाई सम्मान गरियो । त्यसका सञ्चालक भोजराज जैन हुन् ।

यसैगरी, उत्कृष्ट शाखाको रुपमा धनकुटा शाखालाई सम्मान गरियो भने महासंघमा कार्यरत कार्यालय प्रमुख अनिल ढुंगाना र कार्यालय सहायक रोशन भट्टराईलाई प्रशंशापत्र प्रदान गरिएको छ । प्रमुख अतिथि मुख्यमन्त्री राईले उनीहरु सबैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।

समारोहमा प्रतिनिधिसभाका सदस्य लालबहादुर साँवा, प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य राम राना, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल प्रधान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महासंघका संस्थापक राजेन्द्रकुमार घिमिरे, महासंघका सल्लाहकार मित्र काफ्लेलगायतले मन्तव्य राखेका थिए ।

सभामा गुनासै–गुनासाको फोहरा

समारोहमा पछिल्लो समय अलैंचीमा आएको लगातारको गिरावटप्रति अलैंची कृषक तथा साधारण व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । अलैंचीको भाउ निरन्तर ओरालो लागिरहँदा पनि सरकारले अलैंचीको मूल्य बृद्धिका लागि ठोस कार्य गर्न नसकेको कृषक तथा व्यवसायीको गुनासो छ ।

कृषक प्रतिनिधि अलैंची व्यवसायी संघ धनकुटा शाखाका सचिव लाकमान घिसिङले अलैंची कृषक लगानी पनि उठ्न नसक्ने अवस्था आएकोले कृषक खेती छोड्ने मानसिकतामा पुगेको बताए । उनले अलैंची कृषक तथा व्यवसायीलाई सहुलियत दरको ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

यसैगरी, व्यवसायी प्रतिनिधि लम्जुङ शाखा अध्यक्ष अजय तामाङले अलैंचीको व्यवसाय तथा खेतीमा देखिएको समस्या समाधानमा महासंघले पहलकदमी लिनुपर्नेमा जोड दिए ।

 

नयाँ नेतृत्व चयन हुँदै

महासंघले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नका लागि प्रक्रिया अघि बढाएको छ । नेतृत्व चयनका लागि निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक भइसकेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत दिपक नेपालले जानकारी दिए ।

आइतबार निर्वाचन गर्ने गरी तयारी गरिए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने गरी महासंघको अहिलेको नेतृत्व र महासंघमा आवद्ध सदस्यबीच छलफल भइरहेको महासंघ अध्यक्ष निर्मल भट्टराईले जानकारी दिएका छन् ।

महसंघको अध्यक्ष पदमा उम्मेदवार बन्न वर्तमान महासचिव ओमकृष्ण बिमली, व्यवसायी दिनेश मित्तल र राजकुमार कार्कीले अग्रसरता देखाएका छन् । यस्तै, महासचिन पदमा वर्तमान कोषाध्यक्ष सुवास भट्टराईले दर्विलो दावी प्रस्तुत गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *