Sajhamanch Archive

धितोपत्र बोर्डः कर्मचारी भित्रै, आन्दोलनकारीको ताला ढोकामा

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाउँदा बोर्डका कर्मचारी थुनिएका छन् ।

सेयर बजार सुधार र विस्तारका लागि भन्दै केही साता पहिले चरणबद्ध आन्दोलनको घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।

ताला लगाउन समूह दबाव समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । समूहले पनि एकजना कर्मचारी भित्रै थुनिएको स्वीकार गरेको छ ।

शान्तिपुर्ण आन्दोलनमा कसैलाई थुन्ने नियत नभएको समूले जनाएको छ । समूले कार्यालय खुल्ने समयभन्दा थोरै पहिला नै ताला लगाउने कार्यक्रम भएको र सोही अनुसार ताला लगाउँदा थाहा नभएकार कर्मचारी भित्रै थुनिएको जनाएको छ ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउँदै आएको छ ।

यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो ।

आफ्ना माग पूरा नभई आमरण अनसन तोड्न बाध्य भएको समूहले त्यसबेला आफ्ना आंशिक मागहरु पूरा भएको दाबी गर्दै आएको छ । यसपटक भने समूहले गभर्नर, बोर्डका अध्यक्षलगायतको राजीनामा मागलाई भने अघि सारेको छैन ।

लगानीकर्ताहरुको घोषित आन्दोलनमा आइतबार धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने उल्लेख गरेका थिए । तर घर घेराउ गर्न जादा नकरात्मक असर पर्न सक्ने भन्दै आन्दोलनको स्वरुप बदलेर बोर्डमा ताला लगाइएको महासचिव बास्तोलाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *